सप्तकोशी नदीमा बस खस्यो, सबै यात्रुको उद्धार (अपडेट)

by समतल अनलाइन

सुनसरी । कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको यात्रुवाहक बसका सबै यात्रुको उद्धार गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट को १ ख ४६०१ नम्बरको बस बिहीबार खसेको सुनसरीका सशस्त्र उपरीक्षक सेमानन्द बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको छ । बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको थियो । बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ । बिहीबार बेलुका करिब ६ बजे को १ ख ४६०१ नम्बरको नर्सिङ ट्राभल्स कोशी ब्यारेजको पुलस्थित ३४ नम्बर ढोकाको दक्षिणतर्फ खसेको हो ।

ढोका बन्द भएको हुँदा सो स्थानमा बालुवा रहेको र बसमा सवार २६ जनामध्य केही घाइते रहेको भन्टावारीस्थित बस ब्यवसायी पशुपति कामतले जानकारी दिए । उनका अनुसार पानी परिरहेको अवस्थामा बस नदीमा खसेको हो । दुर्घटनामा घाइते भएर सामान्य चोटपटक लागेका यात्रुलाई भन्टावारीस्थित क्लिनिकमा र अन्यलाई थप उपचारका लागि धरान लैजाने तयारी भएको कामतले जानकारी दिएका छन् । ब्यारेजको ढोका बन्द रहेको र बालुवातर्फ बस खसेकाले मानिस जोखिएको बताइएको छ ।

 
 
  
 

You may also like