विदेशबाट फर्किएका युवकले गरे पत्नीको गोली हानी हत्या, बाबु पनि घाइते

by समतल अनलाइन

सर्लाही । सर्लाहीको हरिपूर्वामा वैदेशिक रोजगारीबाट फर्किएका एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन् । गए राति पौने २ बजेतिर हरिपूर्वा नगरपालिका– ५ का २७ वर्षीय धिरेन्द्र यादवले आफ्नी २३ वर्षीया श्रीमती चित्रलेखा यादवको गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । छोराले प्रहार गरेको गोली लागेर युवकका बुवा समेत घाइते भएका छन् ।

टाउको र आँखामा दुई गोली लागेकी चित्रलेखाको घटनास्थलमै मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । हातको कुइँनामा गोली लागेर धिरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश यादव घाइते छन् । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
धिरेन्द्र एक महिनाअघि मात्रै कुवेतको वैदेशिक रोजगारीबाट फर्किएको खुलेको प्रहरीले जनाएको छ ।

पत्नीको हत्याको कारण भने खुलिसकेको छैन । हत्यापछि फरार उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुवेतबाट फर्किएदेखि नै धिरेन्द्रले पत्नीसँग झगडा गर्दै आएका थिए । विदेशबाट आएपछि २÷३ दिन बसेर उनी भारत गएका थिए । त्यसयता घर नफर्किएका उनी गए राति मोटरसाइकलमा एक जनालाई साथमा लिएर घर आएको पाइएको प्रहरीले जनाएको छ ।

बुहारीमाथि गोली प्रहार हुन थालेपछि छुट्याउने क्रममा ससुरालाई पनि गोली लागेको अनुमान प्रहरीको छ । युवकका बुवाको अवस्था भने खतरामुक्त छ । धिरेन्द्र र चित्रलेखाका एक छोरी छन् । प्रहरीका अनुसार धिरेन्द्रले पत्नी र बुवामाथि तीन गोली प्रहार गरेका पाइएको छ । एउटा गोली भने निशाना चुकेको देखिएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यापछि उनी मोटरसाइकल चढेर भारततिर भागेको आशंका स्थानीयको छ ।

 
 
  
 

You may also like