३० वर्षे सेवा अवधि हटाउन माग गरेका एसएसपी श्रेष्ठसहित २१ प्रहरीको निवेदन फिर्ता

by समतल अनलाइन

काठमाडौँ । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका प्रहरीले आफ्नो निवेदन फिर्ता लिएका छन् । ३० वर्षे सेवा अवधिकै कारण अवकाश हुन लागेपछि एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरीले जागिर लम्ब्याउन सर्वोच्च पुगेका थिए ।

सुरुमा उनीहरूकै पक्षमा अन्तरिम आदेश आएपछि सर्वोच्चको संयुक्त इजलासबाट ३० वर्षे हटाउने अन्तरिम आदेश खारेज भएको थियो । आफ्नो माग बमोजिम आदेश नभएपछि उनीहरू भदौ १६ गते नै अवकाश गइसकेका छन् । अवकाशमा गइसकेपछि अब अन्तिम सुनुवाइमा पनि आफ्नो पक्षमा फैसला हुने सम्भावना नदेखेपछि उनीहरूले निवेदन फिर्ता गरेका हुन् ।

रिट फिर्ताका लागि प्रहरीहरूले निवेदन दिएपछि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधबार निवेदन फिर्ता हुने आदेश गरिदिएको छ । भदौ १६ गते ३० वर्षे सेवा अवधिकै कारण ९० जना प्रहरीहरू अवकाश भइसकेका छन् ।

रिट फिर्ता लिनेमा एसएसपीहरूमा जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, दिनेशराज मैनाली, बेलबहादुर पाण्डे, बेलबहादुर पाण्डे र रवीन्द्र रेग्मी छन्। एसपीमा कृष्ण प्रसाईँ, लक्ष्मीराज अधिकारी, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, अवदेश विष्ट क्षेत्री र नरेन्द्रकुमार कार्की छन् ।

त्यस्तै डिएसपीहरूमा श्रीराम भण्डारी, भोजराज पाण्डेय, गोविन्द पन्थी, दलराम टमटा, अनिलकुमार उप्रेती, सुजितकुमार ओझ र जयराम वन्त छन् । इन्स्पेक्टरहरू जगत दमाई, नरपति भट्ट र मेघनाथ चापागाई छन् । यसअघि नै उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै रिट दायर गरेका एआईजी श्यामलाल ज्ञवालीले पनि निवेदन फिर्ता गरिसकेका छन् । उनी पनि भदौ २६ गते नै अवकाश भइसकेका छन् ।

 
 
  
 

You may also like