मनसुन फेरि सक्रिय : ५६ जिल्लामा ‘रेड अलर्ट’

by समतल अनलाइन

काठमाडौं।असोज १० गतेदेखि आइतबारसम्म भारीदेखि धेरै भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बुधबार अपराह्न विशेष बुलेटिन जारी गरी बिहीबारदेखि चार दिनसम्म देशका विभिन्न भूभागमा भारीदेखि धेरै भारी हुने जानकारी दिएको हो।

मनसुनी वायुसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण अबको चार दिन भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको हो।

बिहीबार देशभर साधारणदेखि पूर्णतया बदली रहने र हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेशका एक-दुई स्थानमा भोलि भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान छ।

शुक्रबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ। शुक्रबार नै गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी देखि धेरैभारी वर्षाको हुने महाशाखाले जनाएको छ। आइतबार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

महाशाखाले १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा हुँदा अति भारी वर्षा भनिन्छ।

महाशाखाले चार दिन भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले विभिन्न प्रदेशका यी ५६ जिल्ला उच्च जोखिममा रहेको जनाएको छ।

कोशी : झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, मोरङ ।

मधेस : सिरहा, सप्तरी र पर्सा

बागमती : मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप ।

गण्डकी : म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोर्खा, मनाङ ।

लुम्बिनी : रूकुम पूर्व, रोल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम, बाँके, बर्दिया ।

कर्णाली : जाजरकोट, रूकुम-पश्चिम, दैलेख, सुर्खेत, सल्यान

सुदूरपश्चिम : डोटी, कैलाली र अछाम

महाशाखाले १९ जिल्ला मध्यम जोखिम र दुई जिल्ला निम्न जोखिममा रहेको जनाएको छ।

चारदिन भारीदेखि धेरै वर्षा हुने सम्भावना रहेकाले गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन,नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 
 
  
 

You may also like