‘शुक्रबार र शनिबार ५६ जिल्लामा राति गाडी नचलाउनू’

by समतल अनलाइन

काठमाडौं । मनसुन सक्रिय भएको र अत्याधिक वर्षाका कारण जोखिम निम्तिन सक्ने भन्दै शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन अपील गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार विज्ञप्ति जारी गर्दै असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन अपील गरेको हो ।

रातको समयमा यात्रा गर्दा पहिलो र बाढीको आंकलन गर्न कठिन हुने भएकाले रात्रिकालीन बस नचलाउन आग्रह गरिएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताए । त्यस्तै किसनाहरूलाई पनि केही दिन धान नकाट्न आग्रह गरिएको छ । यदि धान काटिसकेको भए सुरक्षित स्थानमा थन्काउनसमेत प्राधिकरणले आग्रह गरेको छ । तराईका जिल्लाहरूमा सकेसम्म भूइँतलामा अन्नपात नराख्न पनि सचेत गराइएको छ । जुनसुकै बेला खोखिम निम्तिसक्ने भन्दै खोज तथा उद्धारका लागि तीन वटै सुरक्षा निकाय र स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन प्राधिकरणले आग्रह गरेको छ ।

बिहीबारदेखि आइतबारसम्म मनसुन सक्रिय हुने भन्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा सतर्कता अपनाउन आह्वान गरिसकेको छ । विभागले कोशी प्रदेशको ११ जिल्ला, मधेसको तीन जिल्ला, बागमतीको १२ जिल्ला, गण्डकीको १० जिल्ला, लुम्बिनीको १२ जिल्ला, कर्णालीको ५ जिल्ला र सुदूरपश्चिमको ३ जिल्लामा उच्च जोखिम रहने जानकारी दिएको छ ।

बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण देशभर मनसुन सक्रिय भएको विभागले जनाएको छ । मनसुन सक्रिय भएपछि देशका अधिकांश स्थानमा मेघगर्जन÷चट्याङ्गसहित वर्षा हुने विभागको भनाइ छ ।

वर्षाका कारण बाढी, पहिरो र भू–क्षयको जोखिम रहेको छ। रातको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी र तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको विभागको भनाइ छ । ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 
 
  
 

You may also like