स्कलर्स होमका कक्षा-११ का नयाँ विद्यार्थीलाई अभिमुखीकरण तालिम

by समतल अनलाइन

बुटवल । स्कलर्स होम कलेज/विद्यालयले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई लक्षित गरी एकदिने स्कलर्स होमका नयाँ विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । नयाँ विद्यार्थीहरुलाई विद्यालयका बारेमा जानकारी दिने साथै स्वागत कार्यक्रम गरिएको कलेजका प्राचार्य बाबुराम बन्जाडेले बताए । कलेजमा नयाँ विद्यार्थीहरुलाई घुलमिल गर्ने, विज्ञहरुबाट मोटिभेसन गराउने रुपमा कार्यक्रम गरिएको उनले बताए । विद्यार्थीहरुलाई विषय विज्ञबाट अनुभव शेयर गर्ने रुपमा विगतबाट यसरी नै कार्यक्रम गरिदै आएको उनले बताए ।

कार्यक्रमको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्दै नगरमा रहेका सरकारी र नीजि विद्यालयमा शिक्षा नीतिमा भएका फरकपनालाई एकरुपतामा ल्याउने गरी काम अघि बढाएको बताइन् । आफ्नो अध्ययनको समयमा रहेको पुरानो शैक्षिक व्यवस्थाबारे सम्झना गर्दै विवाहपछि वि.सं. २०३५ सालमा एसएलसी गरेको उनले बताइन् । पढ्न जाने विद्यालयमा अहिले जस्तो नजिक र व्यवस्थित नहुँदा धेरै कठिनाइपूर्ण अवस्थाबाट ग्रुजनुपरेको अनुभव उनले सुनाइन् । आफू त्यही शिक्षाको अनुभवलाई बुझेर बुटवलमा साधना महिला विद्यालय स्थापना गरेको उनले अनुभव सुनाइन् । विद्यालयबाट १ सय १५ जना आमाहरुले एसईई पास गरेको उपप्रमुख अर्यालले बताइन् । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य कमला विश्वकर्मा, मन्त्री रमा घर्ती लगायत धेरै नेतृत्वलाई अध्ययनमा विद्यालयबाट सहयोग गरेको उनले बताइन् । नेतृत्वमा उमेर हदबन्दी आवश्यक रहेको चर्चा गर्दै युवाहरु राजनीतिमा भित्रनुपर्ने उनले सुझाव दिइन् ।

कार्यक्रममा कक्षा ११ का विद्यार्थी सचिना पन्थीले आफू कोभिड संक्रमणकै समयमा ब्याचमा अध्ययन गरेको बताइन् । कलेज छनौट गर्दा भौतिक पूर्वाधार मात्र नभई प्राध्यापकहरुको क्षमता बुझ्न सुझाव दिइन् ।

कार्यक्रममा जेसीजका पुर्व अध्यक्ष तथा लक्ष्मी बैक बुटवलका प्रबन्धक राजिव गौतमले बैकिङ करियर, यसको अध्ययन र सम्भावनाबारे जानकारी दिएका थिए । सिए विवेक रायमाझीले आफ्नो शैक्षिक अनुभव सुनाउँदै असफलता नै सफलताको कडी भएको बताए ।

त्यसै गरी डा. कृष्ण खराल तथा डा. रेशव खनालले एसईईसंगै अब कुन बाटोमा लाग्ने भन्ने शिक्षाको बाटो देखाउने पाटो भएको बताए । शिक्षाको महत्वबारे प्रकाश पार्दै उनले व्यक्तिमा अध्ययनले क्षमता विकास गर्न मद्दत मिल्ने बताए ।

विद्यालय ब्यवस्थापनका अध्यक्ष मनोहरी बस्यालले नीजि क्षेत्रबाट शैक्षिक र खेलकुदमा विद्यालयले योगदान दिदै आएको दावी गरे । विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तरगत फुटबल एकेडेमी, मार्शल आर्ट, भलिबल, गायन लगायत प्रशिक्षण दिने गरिएको उनले बताए । विद्यालयहरुमा प्रिमेडिकल, प्रि ईन्जिनियरिङका कक्षाहरु राखेको उनले बताए ।

कमेडियन पुरुषोत्तम भण्डारी (पुर्खे बा) को रमाइलो प्रस्तुतीका साथै विद्यार्थीहरुले नृत्य, गीत प्रस्तुती दिएका थिए । कमेडियन भण्डारीले विभिन्न कथाहरु जोड्दै संस्कार, संस्कृतिको ज्ञान दिए । समाजमा कामको सुरुवातमा धेरै बाधा अड्चन आउने भन्दै यसलाई चिर्न सके मात्र सफलता मिल्ने उनले बताए । त्यसै गरी नेपाली पाठ्यक्रमलाई सुधार गर्न जरुरी रहेको सुझाव समेत दिदै विद्यार्थीहरुमा समेत यसले अन्यौलता छाएको बताए ।

एसईई परिक्षाको नतिजा प्रकाशित भएसंगै कलेजहरुले विद्यार्थीहरुलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो । यो शैक्षिक सत्रमा कक्षा ११ मा १ सय २० जना विद्यार्थी भर्ना भएका छन् । विद्यालयमा विज्ञान, ब्यवस्थापन, शिक्षा र कानून विषयमा अध्यापन गराइन्छ । विद्यालय र कलेजमा दुई ब्लकमा १ हजार २ सय विद्यार्थीहरु अध्ययरत छन् ।

 
 
  
 

You may also like