श्रीलंकामा प्रदर्शनकारीद्वारा राष्ट्रपतिको घर घेराउ, गोटाबाया निवासबाट भागे

काठमाडौँ । श्रीलंकामा जारी आर्थिक संकटको बीचमा जनताको आक्रोश अझै शान्त भएको छैन । देशैभर तेल र अन्य अत्यावश्यक वस्तुको अभाव हुँदा जनता फेरी सडकमा उत्रिएका छन् । शनिबार राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारीको भीडले उनको निवास घेराबन्दी गरेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार यी प्रदर्शनकारीहरूले राष्ट्रपतिको घरमा प्रवेश गर्ने प्रयास गरेपछि राजापाक्षे आफ्नो निवासबाट भागेका थिए ।

केही प्रदर्शनकारी राष्ट्रपति निवासमा प्रवेश गरेको बताइएको छ । त्यसपछि सुरक्षाकर्मीले राष्ट्रपतिलाई घरबाट निकालेर सुरक्षित स्थानमा पुर्याएका थिए । श्रीलंकाको एक टिभी च्यानल सिरसा टिभीले सार्वजनिक गरेको फुटेजमा राष्ट्रपति निवासमा भीड प्रवेश गरेको देख्न सकिन्छ । तर, सुरक्षाकर्मीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी भीडलाई तितरबितर पार्ने प्रयास गरेका थिए । प्रदर्शनका क्रममा ३० जनाभन्दा बढी घाइते भएका छन् ।

श्रीलंका विगत केही महिनादेखि आर्थिक संकटसँग जुधिरहेको छ । देशभर खाद्यान्नदेखि इन्धनको अभाव भएको छ । घरमा बिजुली पनि केही घण्टा मात्र पुग्छ । श्रीलंकाको विदेशी मुद्रा सञ्चिति निरन्तर घट्दै गएका कारण चिकित्सा सम्बन्धी अत्यावश्यक वस्तुसमेत आयात गर्न सकेको छैन ।

प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

यसैबीच, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले समसामयिक अवस्थाबारे छलफल गरी तत्काल समाधान खोज्न पार्टी नेताहरूको सहभागितामा आकस्मिक बैठक बोलाएका छन् । श्रीलंकाको डेली मिररले प्रधानमन्त्रीको मिडिया डिभिजनलाई उद्धृत गर्दै समाचार छापेको छ ।

पूर्व क्रिकेटर सनथ जयसूर्या पनि मैदानमा उत्रिए

यसै क्रममा श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयसूर्याले कोलम्बोमा हालै भएको विरोध प्रदर्शनमा आफु पनि जनताको मागको साथमा उभिने र विरोधको हिस्सा भएको बताएका छन् । जयसूर्या प्रदर्शनकारीसँगै विरोधमा उत्रिएको देखिएको छ ।

तीन महिनाभन्दा बढी समयदेखि यो आन्दोलन जारी छ ।

 
 
  
 

You may also like