लुम्बिनी न्यूज फेस्टिबल–२०७६ को तयारी तीव्र

by समतल अनलाइन

भैरहवा । आगामी मंसिर १ देखि ३ गते सम्म लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा हुने लुम्बिनी न्यूज फेस्टिबल–२०७६ को तयारी तीव्र पारिएको छ । “संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार” भन्ने मुल नाराका साथ प्रेस क्लबको आयोजनामा ३ दिने न्यूज फेस्टिबल बुद्ध जन्मस्थल लुम्बिनीमा हुँदैछ ।

मंगलबार भैरहवामा सम्पन्न क्लबको विस्तारित बैठकले न्यूज फेस्टिबललाई सफल पार्न विभिन्न निर्णय गरेको छ । क्लबका उपाध्यक्ष नरेश के।सी।ले तयार पारेको न्यूज फेस्टिबल सम्बन्धि प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको क्लबका महासचिव सम्झना शर्माले बताइन् । त्यस्तै न्यूज फेस्टिबलका तयारीको लागि यस अघि गठन गरिएका विभिन्न उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी पुरा गर्ने निर्णय गरिएको शर्माले जानकारी दिइन् ।

त्यसै गरी रुपन्देही सहित छिमेकी जिल्ला कपिलवस्तु तथा नवलपरासीका पत्रकार महासंघ शाखा तथा पत्रकारहरुसंग सम्बन्धित संघ–संगठनहरुसंग बैठक बसी न्यूज फेस्टिबलमा पत्रकारहरुको भुमिकाबारे छलफल गरिने सचिव माधब न्यौपानेले बताए ।

क्लबका अध्यक्ष दिपेश पछाईको अध्यक्षतामा सम्पन्न बैठकमा न्यूज फेस्टिबल संयोजक दिपेन्द्र बडुवाल, संस्थापक अध्यक्ष माधव ढुंगाना, सल्लाहकार कमल रायमाझी, प्रख्यात बञ्जाडे, क्लबका पदाधिकारी, कार्यसमिति सदस्य तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।

 
 
  
 

You may also like