एमसीसी पास हुँदैमा बिजुलीको तारबाट सेना र गोलाबारुद आउँदैन : गृहमन्त्री खाँण

भैरहवा।गृहमन्त्री बालकृष्ण खाँणले समाजमा ठूलो परिवर्तन आइरहेकाले यसलाई छेक्न नहुने बताएका छन् । उनले परिवर्तित समाजलाई बरु व्यवस्थित गर्दै लैजानु पर्नेमा जोड दिए । रुपन्देही युवा समूहद्वारा शनिबार भैरहवामा आयोजित हिरो अफ पब्लिक अवार्ड वितरण कार्यक्रममा बोल्दै खाँणले परिवर्तनका नाममा कसैको व्यक्तिगत महत्वकांक्षाले समाजमा द्वन्द्व निम्त्याउने काम भने गर्न नहुने जनाए ।

‘मुलुकले १० वर्षे द्वन्द्व ब्यहोरिसकेको छ । यसबाट १७ हजार नागरिकको ज्यान गएको छ’, उनले भने, ‘ती परिवारले आज पनि आफन्तको फोटो घरमा झुण्ड्याएर बसेका छन्, कति पीडा होला । त्यसैले हाम्रो महत्वकांक्षले गर्दा मुलुकमा अर्को द्वन्द्व हुन हुँदैन ।’ उनले नेपालको शान्तिमा कुनै किसिमको खलल् पुग्न नहुनेमा जोड दिए । खाँणले द्वन्द्वले मुलुकमा परिवर्तन ल्याएको तर अब भने स्वीकार्य नहुने बताए ।

गृहमन्त्री खाँणले अमेरिकी सहयोग परियोजना एमसीसी पास हुँदैमा नेपालमा विजुलीको तारबाट कुनै देशका सेना र गोलाबारुद नआउने प्रष्ट्याए । ‘सम्झौता गर्दा र पास गर्दा बडो सुजबुझसाथ गरिएको छ, बाहिर बजारमा आएका हल्ला मात्रै हुन्’, उनले भने, ‘त्यही पनि एमसीसीकै अंगकारुपमा ब्याख्यात्मक टिप्पणी गरिएको छ । मुलुक विकासका लागि गरिएको सम्झौता हो । यसमा अरु कुनै मनसाय छैन ।’

एमसीसी राष्ट्रहीतमा रहेको दोहोर्याउँदै उनले अन्तर्राष्ट्रिय सहयोग भित्र्याउँदैमा राष्ट्रघात नभई मुलकुको अर्थतन्त्र बलियो हुने जिकिर गरे । गृहमन्त्री खाँणले मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाउन सरकारले २४सैं घण्टा होटल तथा रेष्टुराँ र व्यवसाय संचालनमा ल्याउने निर्णय गरेको बताए ।

‘घडीको सुई हेरेर व्यवसाय बन्द गर्न भन्दा २४ सैं घण्टा संचालन गरेर अतिथिलाई सेवा र सम्मान दिनुपर्छ’, उनले भने, ‘आवश्यक सुरक्षा व्यवस्था सरकार र गृह प्रशासनले गर्छ, व्यवसायीले व्यवसाय संचालन गरेर अतिथिलाई सेवा दिनुस् ।’ पूर्णरुपमा व्यवसाय संचालन हुँदा यसले मुलुकको अर्थतन्त्र चलायमान बनाउने उनले जनाए ।

‘निजी क्षेत्र बलियो भए राज्यको राजश्व बृद्धि हुन्छ, यसले विकास निर्माण र आम नागरिकलाई सेवा दिन थप मद्दत पुग्छ’, उनले भने । नेपाली काँग्रेसका केन्द्रिय सदस्यसमेत रहेका खाँणले उद्योगी–व्यवसायी मुलुकको आधारशीला भएको बताउँदै उनीहरुको सम्बद्र्धन गर्नु राज्यको दायित्व भएको बताए । उनले व्यवसायी र आम नागरिकको जीवन रक्षा गर्न सरकारले गम्भीर रुपमा काम गर्ने प्रतिबद्धता जनाए ।

खाँणले युवापुस्ताले समाजलाई सही मार्गदर्शन गर्न सक्नु पर्ने बताए । समाजमा योगदान गरेका र मुलुकलाई विभिन्न विधाबाट चिनाउन भूमिका खेलेका युवाहरुलाई सरकारले सम्मान गर्ने जनाए । केही युवालाई सरकारले सम्मान गरिसकेको र बाँकीलाई आगामी दिनमा गर्दै जाने खाँणले बताए । कार्यक्रममा खाँणले विभिन्न क्षेत्रबाट योगदान गर्ने ११ जनालाई पब्लिक अवार्ड प्रदान गरेका थिए ।

 
 
  
 

You may also like