कविता : रक्सीको कथा

२ कार्तिक २०७६, शनिबार

 

लक्ष्मण सिटौला

 

बोतलबाट गिलासमा झरेपछि
रक्सीले मलाई हेरेर भन्यो–
मलाई पिउनुस् निर्धक्क पिउनुस् !
पिएर रित्तिएको गिलासत हो जिन्दगी
पिउनैत छ आखिर लाग्नी गरेर पिउनुस
इन्द्रेणीले खोला सोसेर आकाश पुर्याउँछ भन्छन
मात नलागेत केको मजा
रक्सी सग पीडालाई सितन बनाउँदै पिउनुस्
नसाको मजामा एकछिन आफैलाइ बिर्सेर पिउनुस्
पिउनुको मातमा आफैलाई खोजेर पिउनुस
खोलाले पनि साउन पिएकै हो
पहाडले पनि झरी पिएकै हो
वैशाखले वसन्त पिएकै हो
तरुणी ओठहरुले बैँस पिएकै हो
पिउनुस निर्धक्क पिउनुस
बैंसले छोडेर गएपछि निदाउँछन फूलहरु पनि
भोलि कसले पो देखेको छ र ?
हिजोलाई आजले पिए जस्तै
आजलाई भोलिले पिउने छ
को छ र नपिउने यहाँ ?
त्यसैले कविजी ! मलाई पिउनुस निर्धक्क पिउनुस
ब्यापारीको ओठमा पुगेर मेरो मृत्यु हुनुभन्दा
एउटा कविको ओठमा पुगेर मृत्यु भोग्नु
आह त्यो पो मजा !

फेसबुकबाट तपाईको प्रतिक्रिया