ब्राजिलमा भिषण बाढी-पहिरो : १३० को मृत्यु, दुई सय बढी बेपत्ता

by समतल अनलाइन

काठमाडौं । दक्षिण-पूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १३० पुगेको छ । स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको संख्या २०० भन्दा धेरै भएको जनाएको छ ।

मङ्गलबारको भारी वर्षाले नदीहरूमा पानीको बहाव बढेको र धेरै घरहरू ध्वस्त भएका छन् । शुक्रबार दिउँसो प्रकोप क्षेत्रको भ्रमणमा गएका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले घटनाको दृष्य युद्धस्थल जस्तो देखिएको भन्दै मन्त्रीहरूलाई उद्धारका रचनात्मक उपाय अवलम्बन गर्न निर्देशन दिएका छन् ।

अग्निनियन्त्रकहरूले विपद्को चार दिन पछि पनि मानिसहरूलाई जीवितै उद्धार गर्न सम्भव भएको बताएका छन् । यद्यपि प्रतिकूल मौसमका कारण भग्नावशेष सार्न भारी मेसिनरी प्रयोग गर्न गाह्रो भएकाले उद्धार प्रयासहरू सुस्त छ । ब्राजिल सरकारले प्रभावित क्षेत्रका लागि आपतकालीन राहतका लागि करिब ५० करोड रियास (लगभग ९५ मिलियन अमेरिकी डलर) घोषणा गर्ने अपेक्षा गरिएको छ । एजेन्सी

 
 
  
 

You may also like