देश विकासमा सूचना प्रविधिको महत्व र साईवर सुरक्षा

by समतल अनलाइन

बुटवल । देश विकासमा सूचना प्रविधिको महत्व र साईवर सुरक्षाको विषयमा बुटवलमा छलफल गरिएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा सोमबार संघको सभाहलमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

त्यस अवसरमा नासाका वैज्ञानिक प्राध्यापक डा. रामहरी सुवेदीले देश विकासमा सूचना प्रविधिको महत्व तथा साईवर सुरक्षाको चुनौती र सुरक्षा उपायका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । विकसित देशका उदाहरणहरु प्रस्तुत गर्दै उहाँले देशको विकासमा प्रविधिको प्रयोग र त्यसमा देशका दक्ष जनशक्तिको परिचालनमा समेत जोड दिनुभयो ।

विकशित मुलुकलाई हेर्ने हो भने पनि ती देशले युवा जनशक्तिको सीप र क्षमतालाई आफ्नै देशमा सदुपयोग गरेका कारण अहिले ती मुलुकले विकासको गति लिन सकेको बताउनु भयो । देशको विकासको लागि सरकारले नीतिगत रुपमै व्यबस्था गरेर प्रविधि र सीपयुक्त जनशक्तिलाई लक्षित गरि ‘हाई पेईङ जब्स’ सिर्जना गर्नुपर्ने भनाई राख्नुभयो ।

त्यस्तै उहाँले साईवर सुरक्षा सावधानी नअपनाएका कारण नेपाल साईवर सुरक्षामा हाई रिक्स (उच्च जोखिम)मा रहेको बताउँदै साईवर सुरक्षामा सजग रहन समेत आग्रह गर्नुभयो । प्रविधिको प्रयोग र साईवर सुरक्षामा नेपालले नीतिगत तहमै तयारी गर्नुपर्ने भन्दै निकट भविश्यमा देखिएको प्रविधिको विकास, त्यसमा आवश्यक जनशक्ति उत्पादन र साईवर सुरक्षामा अहिलेदेखि नै तयारी गर्नुपर्ने उहाँले सुझाव राख्नुभयो । त्यसको लागि सरकार र विशेष गरेर राजनीतिक नेतृत्व नै तयार हुनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा संघले खेलेको भूमिकाको चर्चा गर्नुभयो । उहाँले औद्योगिक विकासको लागि अव सरकारले प्रविधिलाई जोड दिनुपर्ने भनाई राख्दै त्यसमा निजी क्षेत्रको तर्फबाट के गर्न सकिन्छ आफूहरु तयार रहेको बताउनु भयोे ।

त्यस्तैगरी नेपाल उद्योग बाणिज्य महासंघका सदस्य तथा स्वास्थ्य समितिका उपसभापति भक्त हमालले मुलुकको औद्योगिक तथा व्यवसायिक विकासमा प्रविधिको महत्वपूर्ण भूमिका रहने र प्रविधिको प्रयोगमा साईवर सुरक्षा चुतौतिको रुपमा खडा भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने भनाई राख्नुभयो ।

त्यस अवसरमा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे र बुटवलका पूर्व मेयर पुनाराम पोखरेलले सूचना प्रविधिको विकासले तुलनात्मक रुपमा सहज बनाउँदै लगेको र केही भएन भन्ने भन्दा पनि आगामी दिनमा यसका माध्यमबाट अझै फड्को मार्न सकिन्छ भन्ने आशा र विश्वास दिलाएको भनाई राख्नुभयो ।

त्यस्तै लुम्बिनी प्रदेश कानुन मन्त्रालयका सचिव राजेन्द्र थापाले सूचना प्रविधिको प्रयोगको लागि नीतिगत रुपमा केही प्रगति भएपनि त्यसको कार्यान्वयनमा केही व्यवहारिक कठिनाई रहेको बताउनु भयो । कार्यक्रम संघका महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।

 

 
 
  
 

You may also like