नेपाल भित्रियो अर्को मौसमी प्रणाली, फेरि वर्षा र हिमपात गराउने

by समतल अनलाइन

काठमाडौं । नेपालमा फेरि हिमपात र वर्षा गराउने प्रणाली प्रवेश गर्दैछ । मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) दिउँसो जारी गरेको विशेष बुलेटिनअनुसार आज राति पश्चिम नेपालबाट पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्न लागेको हो ।

यसको प्रभावले बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूणर्तया बदली तथा प्रदेश-१ र प्रदेश- २ मा आंशिकदेखि सामान्यसम्म मौसम बदली हुनेछ । शनिबारसम्ममा यो प्रणाली देशभर फैलिएर विशेषगरी सुदूरपश्चिम, कणर्ाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।

साथै बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका पनि केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ । महाशाखाका अनुसार यस क्रममा सुदूपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना छ ।

यसैले होसियारी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आम नागरिकलाई अनुरोध पनि गरेको छ । ‘यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’, महाशाखाको बुलेटिनमा भनिएको छ ।

आइतबारबाट मात्र यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमशः सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले माथि उल्लिखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप बुलेटिन जारी गर्ने पनि जानरकारी दिइएको छ ।
‘यस महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिनेछ’, बुलेटिनमा भनिएको छ, ‘तसर्थ सम्पूणर्लाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुनसमेत अनुरोध छ ।’

यसअघि यस्तै प्रणाालीका कारण देशभर लगातार वर्षा र हिमपात हुँदा राजमार्ग अवरुद्धलगायत समस्या हुनाका साथै जनजीवन निकै कष्टकर भएको थियो । त्यो क्रम बन्द भएको केही दिनपछि पुनः त्यस्तै प्रणाली भित्रिन लागेको हो ।

 
 
  
 

You may also like