राष्ट्रिय राजनीतिमा पुनः उदाउलान् ओली ?

by समतल अनलाइन

काठमाडौं। नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । सर्वसम्मत अध्यक्ष हुने प्रयास असफल भएपछि मतदान प्रक्रियामा जाँदा उनी निवर्तमान उपाध्यक्ष भीम रावललाई फराकिलो मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।

बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका ओली काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतले पराजित गर्दै शीर्ष नेतृत्वमा निर्वाचित भएका थिए । नवौं महाधिवेशनमा ओली अध्यक्षमा विजयी भए पनि केन्द्रीय पदाधिकारीमा उनी र नेपाल पक्षीयको संख्या बराबरजस्तै थियो ।

दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुँदै गर्दा ओली पार्टीभित्र शक्तिशाली नेताका रूपमा उदाएका छन् । रावल, घनश्याम भुसाल, भीम आचार्यलगायतका नेताले आफ्नै तजबिजमा सबै पदाधिकारी चयन गर्ने ओलीको चाहना पूरा हुन नदिए पनि मत संख्याको हिसाबले उनीहरू कमजोर देखिए । नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएसँगै सरकारको नेतृत्वमा पुगेका ओलीका लागि २०७२ मा भारतले लगाएको नाकाबन्दी पार्टी र राष्ट्रिय राजनीतिमा प्रभाव विस्तार गर्ने अवसर बन्यो ।

नाकाबन्दीविरुद्ध लिएको अडानले महाकाली सन्धिसँग जोडेर उनका बारेमा हुने आलोचनालाई छायामा पा¥यो, सँगसँगै ओलीको राष्ट्रवादी छवि निर्माण भयो । लामो समयसम्म निर्णय गर्न नसक्ने पार्टीको परिचय बनाएको एमाले ओली नेतृत्वमा आएपछि सक्रियमात्र बनेन,२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई समेत चुनौती दियो ।

प्रदेश तथा संघीय निर्वाचनमा तेस्रो ठूलो दल माओवादीसँग गठबन्धन गरेर झन्डै दुईतिहाइ स्थान हासिल गरेपछि ओलीकै नेतृत्वमा एमाले र माओवादी केन्द्रबीच एकीकरण समेत हुन पुग्यो । पार्टी र सरकारमा समेत शक्तिशाली बनेका ओलीले दोस्रो पटक सरकार प्रमुख र नेकपाको अध्यक्षका रूपमा भने प्रभावकारी भूमिका खेल्न सकेनन् ।

झण्डै दुईतिहाइ नेतृत्वको सरकारले जनपक्षीय काम गर्न चुक्दै गयो भने पार्टीभित्रको विवाद मिलाउने मामिलामा ओली सफल हुन सकेनन् । जसले गर्दा उनलाई नेकपाको बहुमतले अध्यक्षबाट हटाउनेसम्मको निर्णय गर्‍यो । झण्डै राजनीतिक जीवनबाट पाखा लागेका उनी अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमालेभित्र पुनः शक्तिशाली बन्न सफल भए ।

१०औं महाधिवेशनमा ओलीले नेतृत्व चयन प्रक्रिया आफ्नो चाहनाअनुसार बनाउन नसके पनि सबै पदाधिकारी अनुकूलका भएका कारण पार्टीमा काम गर्न अप्ठेरो हुने छैन । तर लामो समय राजनीतिक साझेदारी गर्दै आएका माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम तथा छोटो समयका सहकर्मी पुष्पकमल दाहाल यति बेला उनको साथमा छैनन् ।

त्यसैले विभाजित पार्टीभित्र ओलीको प्रभाव बलियो हुँदैमा उनले राष्ट्रिय राजनीतिमा पनि प्रभाव जमाउन सक्छन् भन्ने निश्चित छैन । त्यसमाथि ओलीले महाधिवेशनमा कतिपय निकटस्थलाई समेत चिढाउने काम गरेका छन् । आगामी दिनमा त्यसको असर पनि पार्टीभित्र पर्न सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल ओलीका लागि आगामी दिन सहज नभएको बताउँछन् । ‘महाधिवेशनपछि उहाँकै गुटभित्र असन्तुष्टि बढेको छ । उनीहरूको व्यवस्थापन सहज देखिँदैन,’ बरालले भने। बराल महाधिवेशनमा ओलीले धेरैको आवाज दबाउन खोजेकाले त्यसको प्रभाव बिस्तारै देखिने बताउँछन् । ‘उदयपछि अस्ताउनु स्वाभाविक हा े। अहिले ओली अस्ताउने बाटोमा हुनहुन्छ,’ बरालले भने ।

ओली अहिले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि जिङ पिङको पथमा अघि बढिरहेको उनको विश्लेषण छ । ओलीमा आफूले गरेका गल्ती महसुस गर्ने बानी नभएको र पछिल्लो समय पार्टीभित्र प्रभाव राख्ने व्यक्तिहरूलाई समेत बाहिर राखेर अघि बढेकाले उनको शक्ति खण्डित भएको बराल बताउँछन् ।

विश्लेषक झलक सुवेदी भने राष्ट्रिय राजनीतिमा ओलीको प्रभावबारे अनुमान गर्ने समय नआएको बताउँछन् । उनी आगामी निर्वाचनमा ओलीको नेतृत्वमा एमालेले प्राप्त गर्ने मतले उनको शक्ति परीक्षण हुने बताउँछन् । ‘चुनावमार्फत प्रधानमन्त्रीका रूपमा फर्किनु भयो भने उहाँको प्रभाव राष्ट्रिय राजनीतिमा छ भन्ने देखिनेछ । चुनावमा कमजोर भएमा पार्टीभित्रै पनि उहाँमाथि प्रश्न उठ्नेछ । त्यसले उहाँलाई थप कमजोर बनाउने छ,’ सुवेदीले भने । नागरिक दैनिकबाट

 
 
  
 

You may also like