नेपाल-चीन द्विपक्षीय उच्चस्तरीय बैठक बस्दै

by समतल अनलाइन

नेपाल-चीन द्विपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डलको बैठक आज (आइतबार) काठमाडौंमा बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाली टोली र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्व रहेको चिनियाँ टोलीबीच वार्ता हुन् लागेको हो।

११ बजे सुरु हुने बैठकमा नेपाल–चीन बहुआयामिक सम्बन्धका सबै पक्षहरूमा छलफल हुनेछ। बैठकमा विगतमा नेपाल र चीनबीच भएका सम्झौताको कार्यान्वयनका सम्बन्धमा पनि छलफल हुने जनाइएको छ।

बैठकपछि प्रधानमन्त्री ओली र राष्ट्रपति सीको उपस्थितिमा करिब एक दर्जन सम्झौता तथा समझदारीपत्र (एमओयु)मा दुई मुलुकका सम्बन्धित अधिकारीले हस्ताक्षर गर्ने जनाइएको छ।

बैठकमा नेपाल–चीन सुपुर्दगी सन्धि, केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), काठमाडौंको टोखाबाट नुवाकोटको छहरे निस्कने सुरुङमार्ग, रसुवागढी–काठमाडौं सडक, किमाथाङ्का–हिले सडक, दिपायल–दक्षिण चीन जोड्ने सडक, टोखा–विदुर–नुवाकोट सडक, गल्छी–रसुवागढी–केरुङ विद्युत् प्रसारण लाइन, ७ सय ६२ मेगावाट क्षमताको तमोर हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्ट, फुकाट–कर्णाली हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्ट, मदन भण्डारी विश्वविद्यालय निर्माण, औद्योगिक पार्क निर्माणलगायत विषयमा छलफल हुदैछ ।

राष्ट्रपति सी आइतबार मध्याह्न १२ बजेपछि स्वदेश फिर्ताका लागि विमानस्थल तर्फ जाने र दिउँसो १ बजे चीनका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

 
 
  
 

You may also like