नेपाल आज ओमानसँग भिड्दै

by समतल अनलाइन

काठमाडौं । त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज (मंगलबार) ओमानसँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजमा नेपालले ओमानसँग खेल्न लागेको हो ।

अल अमिरात क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । घरेलु टोलीको सामना गर्दा नेपाल सहज जित निकाल्ने योजनामा हुनेछ । नेपालले सोमबार भएको खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल आजको खेलमा केही उच्च मनोबलमा हुनेछ । ओमान नेपालभन्दा बलियो टोली हो । ओमान लिग–२ को शीर्ष स्थानमा रहेको टिम समेत हो । ओमानले १० खेलबाट १६ अंक जोडेको छ । ओमान आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।

नेपाल भने ५ खेलबाट ६ अंक जोडेर छैटौँ स्थानमा छ । पछिल्लोपटक सन् २०२० फेब्रुअरीमा भएका दुई खेलमा नेपाल पराजित भएको थियो । डिभिजन–२ अन्तर्गत नै पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो त्यस्तै, दोस्रो खेलमा नेपाल ८ विकेटले हारेको थियो ।
विश्वकप छनोटको एक रूपमा रहेको डिभिजन–२ टोलीले नौ सिरिजसहित कुल ३६ खेल खेल्नेछन् । लिग–२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।

 
 
  
 

You may also like