मोतीपुर औद्योगिक क्षेत्रको जमिन अतिक्रमण भएको भन्दै अनिश्चितकालीन निषेधाज्ञा

by समतल अनलाइन

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर क्षेत्रको जमिन अतिक्रमण भएको भन्दै स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । औद्योगिक करिडोरको जग्गामा रातको समयमा अतिक्रमण गर्ने र बस्ती बसाल्ने क्रम नरोकिएपछि स्थानीय प्रशासनले त्यस क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेको हो ।

करिडोर क्षेत्रमा सुकुम्बासीहरुलाई भेला गरी सुकुम्बासी बस्ती बसाउन प्रयास गरेकाले उक्त क्षेत्रमा २८ भदौदेखि अर्को सूचना जारी नहुँदासम्म लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

निषेधित क्षेत्र पूर्व तिनाउ नदीसम्म (बुटवल उपमहानगरपालिका– १७ शिवनगरदेखि वडा नं १८ सौरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन (बुटवल उपमहानगरपालिका–१७ सम्म), उत्तरतर्फ शिवनगर रानीगाउँ बस्ती बुटवल उपमहानगरपालिका–१७ सम्म र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहियासम्म) तोकिएको छ ।

निषेधित क्षेत्रभित्र निषेध गरिएका क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सुकुम्बासीका नाममा संगठित रूपमा मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न थालिएकाले आजदेखि त्यस क्षेत्रमा निषेधाज्ञा लागू गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । घरधुरीको संख्या हजार पुगेपछि प्रतिकारमा उत्रिने सूचना प्राप्त भएकाले निषेधाज्ञा जारी गरिएको उनले बताए ।

उनका अनुसार हाल औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर डेढ सय जति जनाले उपभोग गरिरहेका छन् । कोही पाल टाँगेर बसेका छन् त कसैले आफ्नो क्षेत्र ओगटेर घाँस काट्ने गरेका छन् । आफूहरुको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । उक्त क्षेत्रमा स्थानीयको विरोध र ढुङ्गामुढाका बीच एमाले नेता विष्णु पौडेलले गत फागुन २१ गते औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए ।

 
 
  
 

You may also like