कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । कोभिड–१९ को जोखिम बढेका कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए ।

कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित गरेको उनले बताए । उनले अनलाइनखबरसँग कुरा गर्दै भने ‘अहिलेलाई स्थगित गरेका छौं । बाँकी परीक्षा हुन पन्ध्र दिन अघि सूचना जारी गरेर जानकारी दिने निर्णय भएको छ ।’

यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो । विद्यार्थी संगठन र अभिभावकहरुले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिड विरुद्धको खोपको व्यवस्थापन गर्न, व्यवस्थापन गर्न नसक्ने भए स्थगित गर्न माग गर्दै आएका थिए ।

केही दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण बढ्दै गए भौतिक रुपमा परीक्षा नगरी आन्तरिक मूल्याङकनबाट गर्न गर्न सकिने बताएका थिए । तर राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको र परीक्षा हुने बताउँदै आएको थियो ।

परीक्षा आउन एक हप्ता बाँकी हुँदा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सीसीएमसीले परीक्षाको नयाँ मिति तय गर्न अनुरोध गरेपछि बोर्डले पनि त्यही अनुसार तत्काललाई स्थगित गरेको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यालयहरुले पठाएको मूल्याङ्कनलाई बोर्डले प्रमाणीकरण गरेको बताए । विद्यार्थीहरुको जीपीएस बोर्डले नकेलाएको उनको भनाइ छ ।

‘४ लाख ७४ हजार २७८ विद्यार्थीको नतिजा प्रमाणीकरण भएको छ,’ उनले भने, ‘फरक–फरक विद्यालयको फरक–फरक जीपीए छ, त्यसलाई एक ठाउँमा जोडेर तुलना गर्नु व्यवहारिक हुँदैन ।’ पौडलका अनुसार विद्यार्थीको सर्टिफिकेटमा जीपीएस आउँछ, तर बोर्ड आफैंले भने वर्गीकरण गरेको छैन ।

 

 
 
  
 

You may also like