‘प्रतिगमनकारीहरुको खड्ग प्रहारबाट मुर्छित हुनुपर्‍यो’- बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कुतर्क गरेर इतिहास बिर्सिने काम नगर्न प्रतिपक्षी एमालेलाई सुझाब दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले जानेर वा नजानेर कुतर्क नगर्न आग्रह गरेका छन् । कुतर्क गरेर इतिहासलाई बिर्सने काम नगर्न उनले आग्रह गरे । उपलब्धिलाई संस्थागत गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

डा.बाबुराम भट्टराईले प्रतिगमनकारीहरुको खड्ग प्रहारबाट प्रतिनिधिसभा मुर्छित हुनुपरेको बताएका छन् । उनले प्रतिनिधिसभा विघटन बदर भएपछि पुन सदनमा उपस्थित हुन पाउनु खुशीको कुरा भएको बताए ।

‘प्रतिगमनकारीहरुको पटक पटकको खड्ग प्रहारपछि मुर्छित बनेको प्रतिनिधिसभा र दुई पटक मुर्छित बनाइएका हामी यहाँ उपस्थित हुने अवसर प्राप्त गरेका छौं, त्यसको लागि आवाज उठाउने सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु’, भट्टराईले प्रतिनिधिसभालाई सम्बोधन गर्दै भने । भट्टराईले सर्वोच्च अदालतको फैसला आफूले पटक–पटक पढेको भन्दै सो फैसलामा सुन्दर ढंगले ब्याख्या गरिएको बताए ।

 
 
  
 

You may also like