पश्चिम युरोपमा भीषण बाढी : ज्यान गुमाउनेको संख्या १२० पुग्यो

काठमाडौं। पश्चिम युरोपमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या १२० पुगेको छ । ज्यान गुमाउनेमध्ये धेरैजसो जर्मनीका रहेका बीबीसीले जनाएको छ । बाढीका कारण पश्चिमी र दक्षिणी जर्मनीका दुई गाउँ तहसनहस भएका छन् । बाढीका कारण सयौं घर बगेका छन् भने सयौं सर्वसाधारण बेपत्ता भएका छन् ।

बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित बनेको छ । जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका १३ सय सर्वसाधारण हराइरहेका बीबीसीको खबरमा उल्लेख छ । जर्मनीका मौसम विभागका प्रवक्ता एन्ड्रियास फ्रेडरिकले भीषण बाढी सय वर्षयताकै खतरनाक भएको बताएका छन् ।

एक महिनामा पर्नु पर्ने पानी २४ घण्टाभित्रै परेको यहाँको मौसम विभागले जनाएको छ । जर्मनीमा नौ घण्टामा अधिकतम २ सय ७ मिलीलिटरसम्म पानी परेको बताइएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीमा आएको बाढीलाई विनाशकारी बाढीको संज्ञा दिएका छन् । उनले बाढीका कारण विपत्तिमा परेका सर्वसाधारणको उद्धारमा जोडतोडका साथ लाग्न निर्देशन दिएको खबरमा उल्लेख छ । एजेन्सी

 
 
  
 

You may also like