मोबाइलमा कसरी एक्टिभेट गर्ने फोरजी ?

by समतल अनलाइन

नयाँ सिम लिनु परे पैसा नलाग्ने

काठमाडौं । बिहीबारबाट काठमाडौंबाहेकका धेरैजसो मुख्य शहरहरुमा औपचारिक रुपमा फोरजी एलर्टी सेवा सुरुआत हुँदैछ । अहिले टेलिमकले ती शहरीमा परीक्षणका रुपमा फोरजी सेवा एक्टिभ गरिसकेको छ ।

नेपाल टेलिकमका अनुसार ३२ जिल्लाका मुख्य महानगर र नगरपालिकाहरुमा फोरजी सेवा विस्तार गरिए पनि कुन–कुन शहर भन्ने जानकारी बेलुकी मात्रै दिइने बताइन् ।

हालसम्म टेलिकमले काठमाडौं र पोखरामा मात्रै फोरजी सेवा उपलब्ध गराउँदै आएको थियो । फाेरजी सेवा देश भर विस्तार गर्न भएको ढिलाइले टेलिकमका ग्राहक सेवाबाट बञ्चित हुने अवस्था अन्त्य भएको प्रवक्ता वैद्याले बताइन् ।

हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहक *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् ।

ग्राहकले *444# डायल गर्दा आफ्नो सिम फोरजी सेवाका लागि परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । यो नम्बरमा रिक्वेष्ट गर्दा फोरजी सेवा एक्टिभ नहुने अवस्थाको सिम भए नयाँ लिन अनुरोधसहित नोटिफिकेशसन आउनेछ ।

र, ग्राहकले नजिकैको टेलिकमको ग्राहक सोव केन्द्रमा गएर सिम परिवर्तन गर्न सक्नेछन् । यस्तो सिम लिँदा ग्राहकले एक रुपैयाँ पनि पैसा तिर्नुनपर्ने वैद्यले जानकारी दिइन् ।

पहिलोपटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधिसहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।

के हो फोरजी ?

फोरजीे ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात् चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि हो, जुन मोबाइल इन्टरनेट प्रविधिमा स्थापित भइसकेको छ ।

स्वभाविक रुपमा फोरजी थ्रीजीभन्दा तीव्र गतिको हुन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)को मापदण्ड अनुसार १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेटसहितको सेवालाई फोरजी भनिन्छ । विभिन्न देशमा टेलिकमहरुले १ सय एमबीभन्दा कम क्षमतामै फोरजी सेवाका रुपमा चलाइरहेका छन् ।

फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टीभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन् ।

फोरजी सेवा सुरु लिनु भनेको मोबाइलमै तीव्र गतिको इन्टरनेट पाउनु हो । जसले गर्दा मोबाइलबाटै बिना बफरिङ टाइम भिडियो र विभिन्न अनलाइन कन्टेन्ट हेर्न सकिन्छ ।

ठूलो क्षमताका फाइलहरु अपलोड वा डाउनलोड गर्न सकिन्छ । इन्टरनेट स्पिडका कारण फेसबुक म्यासेन्जर, भाइवर, स्काइपजस्ता म्यासेजिङ एपहरुमा कुरा गर्दा आवाज नबुझिने समस्या पनि हुँदैन ।

टेलिकमले टेक्नोलोजी न्युट्रल विधिअनुसार यो सेवा दिइरहेको छ । अर्थात् सेवाग्राहीले आफूले चाहेको अनुसार नेटवर्क अपरेटर र फ्रिक्वेन्सी चेन्ज गरेर सेवा प्राप्त गर्न सक्छन् । मोबाइल नेटवर्कमा चेन्ज गरेर आफूले चाहेको बेलामा मात्र फोरजी सेवा लिन सकिन्छ । नचाहिएका बेला फोरजी अप्सन अफ गरेर थ्रीजी वा टुजीमा इन्टरनेट चलाउन सक्नुहुन्छ ।

उच्च गतिको इन्टरनेट आवश्यक भएको अवस्थामा फोरजी सेवा लिन सकिन्छ । मल्टिमिडिया (भिडियो, भ्वाइस, तस्वीर, ग्राफिक्स, टेष्ट) को प्रयोगमा फोर जी प्रयोग गर्दा सेवा सहज हुन्छ । ठूलो क्षमताका फाइल अपलोड वा डाउनलोड गर्न, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा थ्रीडी टिभी हेर्न फोरजी चलाउँदा राम्रो हुन्छ । फोरजीको शुल्क थ्रीजीको केही भन्दा महँगो पर्न जान्छ ।

 
 
  
 

You may also like