महरा प्रकरणमा अन्योलता : छानबिन गर्न के ले रोक्यो ?

by समतल अनलाइन

काठमाडौँ । संसद् सचिवालयमा कार्यरत महिला रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि राजीनामा दिएका कृष्णबहादुर महरामाथि थप अनुसन्धान गर्नुपर्ने दबाब बढिरहेका बेला यस प्रकरणमा थप नयाँ ट्वीष्ट आइरहेका छन् ।

महरालाई आरोपित गर्ने शाहीले आफ्नो बयान बदल्दै महरालाई पिता समान भएको र आफ्नो कोठामा आउदै नआएको बयान मिडियामा दिएपछि यो प्रकरणले नयाँ तरंग ल्याएको छ । उनले भिडियो अन्तर्वार्तामा महरा आइतबार साँझ आफ्नो कोठामा नआएको बयान दिएकी छन् ।

सोमबार भिडियो अन्तर्वार्ता मै महराले आफुलाई बलात्कार गरेको आरोप लगाउदै मिडियासँग प्रमाण पेश गरिरहेकी शाहीले मंगलबार बयान फेर्नुलाई आशंकाको दृष्टिले हेरिएको छ । स्पष्टसँग अनुसन्धान अगाडी नबढेको अवस्थामा अहिले महराले सभामुख पदबाट राजीनामा दिएका छन् ।

सत्तारुढ दल नेकपाको सचिवालय बैठकले पनि महरा महिला कर्मचारीको घरमा जानु नै गल्ति भएको निष्कर्षसहित सभामुख र सांसद पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर महराले सभामुखबाट त्यो पनि छानबिन नसकिने समयसम्मको लागि भन्दै राजीनामा दिए ।

यस प्रकरणले अब अगाडी कसरी बढ्छ भन्ने बारे अहिले अन्योल नै रहेको छ । प्रहरीले अहिलेसम्म पिडितले उजुरी नगरेकाले अनुसन्धान अगाडी बढाउन समस्या परेको बताएको छ । यद्यपी प्रहरीले आइतबार राती नै घटनास्थल शाहीको कोठामा गएर तस्बीर र भिडियो खिचेको बताएको छ ।

यस प्रकरण कसरी अगाडी बढ्ला भन्ने अन्योलताका बीच रोशनीले बयान बदल्नु र महराले राजीनामा दिएको भाषा स्पष्ट नहुनुलाई आशंकाको दृष्टिले हेरिएको छ । अब थप मिडिया ट्रायल भन्दा कानुनी रुपमा छानबिन अगाडी बढाउनेतर्फ सरकार, प्रहरी अगाडी नबढ्नु आफैमा अचम्मको विषय भने रहेको छ ।

देशको उच्च पाँचौ सम्मानित पदमा रहेका महरामाथि यति ठुलो आरोप लाग्नु आफैमा ठुलो घटना हो । सरकारले समयमै उच्च स्तरीय छानबिन समिति बनाएर स्पष्ट गर्ने तर्फ नलागेर घटनामा नयाँ ट्वीष्टको प्रतिक्षा गरे जस्तो गर्नु दुर्भाग्यपूर्ण रहेको छ । सोमबार विभिन्न मिडियाहरुसँग स्वयं महराआफैले आफु ति महिलाको घरमा गएको बताएकाले अब महिलाले अर्को बयानमा महरा नआएको बयान दिनुले ठुलो अर्थ देखिदैन ।

लिखित उजुरी आएन – प्रहरी

प्रहरीले महरामाथि दुर्व्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीलाई पटकपटक ताकेता गर्दा पनि अहिलेसम्म लिखित उजुरी दिन नआएको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले लिखित उजुरी नपरेकाले मौखिक उजुरीकै आधारमा प्रारम्भिक अनुसन्धान भने चलिरहेको बताए ।

“लिखित जाहेरीका लागि प्रहरीले ताकेता गर्यो, अहिलेसम्म आएको छैन तर जानकारी आउनेबित्तिकै प्रहरीले आइतबार रातिदेखि नै अनुसन्धान गरिरहेको छ”, सुवेदीले भने । उनका अनुसार आइतबार राति ९:०५ बजे प्रहरीको नियन्त्रण कक्षमा रहेको १०० नम्बरमा फोनमार्फत मौखिक जानकारी प्राप्त भएको थियो । सोही जानकारीका आधारमा रातिदेखि नै घटनाबारे अनुसन्धान भइरहेको र घटनामा जोडिएका सबै वस्तु सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले प्रारम्भिक अनुसन्धान भइरहे पनि लिखित उजुरी नआएसम्म अन्य प्रक्रिया अगाडि बढ्न समस्या हुने बताए ।

राजीनामाको भाषामा विवाद : सभामुख पद खालि

पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराले राजीनामा पत्रमा छानबीन प्रक्रिया नसकिएसम्मका लागि भनी लेखेको भाषा संवैधानिक दृष्टिकोणबाट अनुपयुक्त रहेको टिप्पणी गरिएको छ ।
संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि दुव्र्यवहारको आरोप लागेपछि राजीनामा दिका महराले आजैका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिइएको उल्लेख गरेका छन् ।

नेपालको संविधानको धारा ९१ उपधारा (६) मा लिखित राजीनामा दिएमा सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था छ । सभामुखले लिखित राजीनामा दिएपछि पद रिक्त हुने संवैधानिक व्यवस्था रहेको हुँदा राजीनामामा उल्लेख भएका अरु कुराले खासै अर्थ नराख्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउछन् ।

सभामुख महराले आफुमाथि लागेको आरोपबारे सत्य, तथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा राजीनामा दिएको उससभामुखलाई सम्बोधन गरेर लेखेको पत्रमा उल्लेख छ । नेम्वाङ भन्छन्, “नेकपाका कुनै पनि तहमा रहेका व्यक्तिबाट हुने अपराध, विकृति र विसङ्गतिमा दल जोडिनुहुन्न, स्वयम् व्यक्ति जिम्मेवार हुन्छ भन्नेमा हामी प्रष्ट मान्यता राख्छौँ । ”

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सञ्चारकर्मीको जिज्ञासामा भने, “ जो कसैबाट कानून उल्लङ्घन र अपराध हुन्छ भने उसले कानूनको भागीदार बन्नुपर्छ । कानून सबैका लागि बराबर हो ।”

नेकपाबाट नयाँ सभामुख बनाउन संबैधानिक अड्चन :

सभामुख कृष्णबहादुर महराले राजीनामा गरेपछि अब अर्को सभामुख को बन्छ भन्ने प्रश्न उठ्न शुरु भएको छ ।

महराले राजीनामा दिएपछि अब संबिधान अनुसार नेकपाबाट सभामुख बन्न नमिल्ने व्यवस्था रहेको छ ।

संविधानको धारा ९१ (२) मा ले सभामुख र उपसभामुख एउटै दलको हुनुहुदैन भनेर स्पष्ट व्यवस्था गरेको छ । तर अहिले तत्कालिन दुवै पदमा एकै पार्टीका रहेका थिए ।

सभामुख र उपसभामुखको निर्वाचन हुदा सभामुखमा महरा तत्कालिन माओवादीबाट सभामुख बनेका थिए भने उपसभामुख शिबमाया तुम्बाहाङफे नेकपा एमालेबाट उपसभामुख बनेकी थिइन् ।

त्यसबेला दुवै दल एकीकरण नभएको अवस्थामा रहेकाले संबिधान अनुसार क्रमश सभामुख र उपसभामुख बन्न गाह्रो भएन । तर अहिले दल एकीकरण भएर निर्वाचन आयोगमा समेत दर्ता भइसकेको अवस्थामा भने अब सभ्मुख नेकपाबाट बनाउन संबैधानिक अड्चन आउने देखिएको छ ।

अब सभामुख नेकपाबाटै बनाउन कि त उपसभामुखलाई राजीनामा गर्न लगाउनुपर्ने अवस्था आएको छ भने यदि त्यस्तो नभएमा सभामुख अन्य पार्टीबाट बन्ने देखिन्छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यस विषयलाई संसदमा पटक पटक मुद्ध बनाएर अवरोध गरेपनि सभामुखले यो विषयमा अदालतमा मुद्दा परेकोले छलफल नगर्न रुलिंग गर्दै आएका थिए ।

सभामुख र उपसभामुख बारे के छ संविधानको व्यवस्था –

९१. प्रतिनिधि सभाको सभामुख र उपसभामुखः (१) प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।

(२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ । तर प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन ।

(३) प्रतिनिधि सभाको सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्ने छन् ।

(४) प्रतिनिधि सभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधि सभाको अध्यक्षता गर्नेछन् ।

 
 
  
 

You may also like