दशैंमा मालसामानको आयात बढ्यो : बेलहिया नाकामा अत्याधिक चाप

by समतल अनलाइन

दीपक घिमिरे।भैरहवा । दशै–तिहारलाई लक्षित गर्दै व्यवसायीले भारत तथा तेस्रो मुलुकबाट मालसामानको आयात बढाएका छन् ।

अन्य समय औद्योगिक कच्चा पदार्थ धेरै भित्रने भैरहवा भन्सारमा अहिले खाद्यान्न, फलफुल, लत्ताकपडा, मरमसला तथा सवारी साधनको आयातमा बृद्धि भएको छ ।

भैरहवास्थित बेलहिया नाकाबाट दसैं, तिहारका लागि एक अर्बभन्दा बढीको लत्ताकपडा आयात हुने गरेको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख कमलप्रसाद भट्टराईले चाडपर्वका लागि खाद्यान्न, फलफुल, लत्ताकपडा, मरमसला तथा सवारी साधनको आयातमा बृद्धि भएको जानकारी दिए ।

भैरहवा नाकाबाट साउनमा ३० करोड ७४ लाख रुपैंयाको सुर्ती तथा तयारी कपडा आयात भएको थियो । भदौ र असोजमा ३५ देखि ४० करोड रुपैंयाको लत्ताकपडा आयात हुने भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो समय भारतलगायत तेस्रो मुलुकबाट लत्ता कपडा, खाद्यन्न, सवारी साधनको आयात बढेको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए ।

दशैंकै लागि यो नाकाबाट फलफूल भित्रने क्रम पनि बढ्दो छ । स्याउ, काँचो केरा, भुइँकटहर, अनार यो नाकाबाट धेरै भित्रिन्छ ।

दैनिक ५० देखि ७५ गाडी फलफूल भित्रिने यो नाकाबाट असोज लागेसगै दैनिक एक सयभन्दा बढी फलफूलका गाडी नेपाल भित्रिरहेको भन्सार कार्यालयले जनाएको छ ।

व्यापारीहरुले गत साउनदेखि नै सवारी साधनको आयात पनि बढाएका छन् । यो नाकाबाट वार्षिक साढे २३ अर्ब बराबरको सवारी साधन आयात हुने गरेको छ ।

आयातको झन्डै ४० प्रतिशत कारोबार दसैंतिहारको समयमा हुने गरेको जगत मोर्टस प्रालीका सञ्चालक रिश्चल थापाले बताए ।

दसैं सुरु भएसँगै बुटवल, भैरहवाजस्ता ठूला सहरमा चारपाँग्रे गाडीको बिक्री ह्वात्तै बढेको छ ।

दसैंमा देवी देवताका मुर्ती, इलेक्ट्रोनिक सामान टिभी, क्यामेरा, झालर लाइट, मोबाइलजस्ता सामानको बिक्री उल्लेखनीय बढ्ने व्यापारीहरु बताउँछन् ।

 
 
  
 

You may also like