मुख्यमन्त्री सत्ता लम्ब्याउन सदन छलेर भाग्नु भयो : कांग्रेस नेता पोखरेल

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता लम्ब्याउन सदनलाई छलेर भागेको बताएका छन् ।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने र विशेष अधिवेशनमा पनि छलछाम गर्ने काम भएको उनको आरोप छ । मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव समाना गर्न नसकेको उनको भनाई छ । गण्डकी प्रदेश सभामा बोल्दै पोखरेलले मुख्यमन्त्रीले प्रदेश सभालाई छलेर सत्ता लम्ब्याउन खोजेको बताएका हुन् ।

देशमा संवैधानिक संकट आएको बताउँदै पोखरेलले गण्डकी प्रदेशमा पनि संविधानले गरेको व्यवस्थालाई मिस युज गरिएको उनको भनाई छ । प्रदेशमा असार १ गते बजेट ल्याउने बाध्यात्मक व्यवस्था रहेको र आज अविश्वासको प्रस्तावमा छलफल गर्नु पर्ने अवस्था आउनु दुःखद भएको पोखरेलको भनाई छ ।

उनले लोकतन्त्रको रटान दिएर मात्र नहुने भन्दै यसलाई अबलम्बन गर्नु पर्ने बताए । सरकारले उल्लेख्य काम गर्न नसकेको पोखरेलले बताए । ‘सरकार बनेपछि केही न केही काम हुन्छ । तर यो ३ वर्षमा प्रदेशमा आकर्षित गर्ने आकारका के काम भए ?’, उनले प्रश्न गरे ।
कोरोनाका लागि पाँच लाख पठाएँ भनेर नहुने उनले बताए । प्रदेशको मुहार फेर्ने किसिमबाट काम गर्न नसकेको उनको भनाई छ ।

 

 
 
  
 

You may also like