सुखी र आनन्दमय जीवनका लागि ६ नियमहरु

by समतल अनलाइन

जीवन के हो ? संसार मान्छेले सबै भन्दा धेरै जवाफ खोजेको प्रश्न नै यहि हुनु पर्छ । आदिमकालदेखि जब मानिसले बल्लतल्ल लेख्न पढ्न थाल्यो, त्यति बेला देखि अहिलेको आर्टिफिसियल इन्टेलिजेन्ससम्मको समयसम्म पनि यो प्रश्न उस्तै गरि चलिरहेको छ तर समानता भने एकै छ । यसको स्पष्ट जवाफ अहिलेसम्म प्राप्त भएको छैन ।

दार्शनिक अनुसार परिभाषा फरक । सन्दर्भ अनुसार निष्कर्ष फरक । यसैले आममानिसका लागि जीवनको परिभाषा खोज्नु लगभग उस्तै हुन्छ, जस्तो समुद्रको किनारमा त्यहि बालुबाको कण छान्नु जुन अघिल्लो पटक आउँदा आफुले छोएको होस् । लगभग असम्भव ।

वास्तवमा जीवन परिभाषा लगाएर बस्नु पर्ने कुरा पनि होइन । यो भोग्ने कुरा हो । कुरा यति हुनु पर्यो कि जीवन भोगाइ उत्साहजनक होस्, सुखी र आनन्दमय होस् । सुखी र आनन्दमय जीवन बिताउँन त्यस्तो अफ्ठ्यारो बिषय पनि होइन । यसका लागि विद्धान तथा ज्ञानीहरुले धेरै पहिलेदेखि नै बोल्दै र लेख्दै आएका छन् ।

यहाँ मैले केहि विद्धान तथा ज्ञानीहरुको ज्ञानको संश्लेषण राख्ने प्रयास गरेको छु । सुखी र आनन्दमय जीवनका लागि के कस्ता नियमहरु छन् भन्ने थाहा पाउँनु मात्र ठुलो कुरा होइन, यसलाई जीवनमा लागू गर्न सकियो भने जीवन सुखी र आनन्दमय हुने हो । आशा छ, तपाई लागू गर्नु हुनेछ ।

१. प्रार्थना गर्नु भन्दा पहिले विश्वास गर

सुन्दा खेरी यो भनाई अध्यात्मिक मात्रै हो भन्ने लाग्छ । प्रार्थना गर्नु भन्दा पहिले विश्वास गर अर्थात भगवान वा देउतासँग प्रार्थना गर्नु भन्दा अगाडी उनीहरुको महानतामा विश्वास गर तर यसको अर्थ त्यति मात्रै लाग्दैन । प्रार्थना गर्नु भन्नुको अर्थ आशा जिवित राख्नु हो । अहिले नभए पनि पछि हुन सक्छ है भन्ने सोच्नु हो । आशा आफैमा सकारात्मक सोच हो ।

यस्तै कोही कसैसँग तब मात्रै सहयोग माग्नु, जब आफुलाई उसले सहयोग गर्छ भन्ने लाग्छ । कसैले सहयोग गर्ने सम्भावना नै देखिदैन भने त्यस्तो ठाउँमा सहयोगको याचना गर्दा आफुमा झन् नकारात्मक विचार बढ्छ । यसो भन्दैमा सहयोग माग्नु पर्ने ठाउँ वा व्यक्ति शक्तिसम्पन्न हुनु पर्छ भन्ने होइन । सँधै सम्पति वा वैभवले मात्रै सहयोग हुदैन । त्यो भन्दा नैतिक सहयोग र आत्मियता धेरै महत्वपुर्ण हुन सक्छ । जुन सुकै परिस्थितिमा पनि तपाईले पहिले विश्वास गर्न भने जरुरी हुन्छ । यस्तो अवस्थाले जीवनमा खुसी र आनन्द दिन्छ ।

यो पनि पढ्नुहोस् : जिन्दगीलाई माया गरौँ, फिर्तामा कुनै दिन जिन्दगीले पनि माया गर्छ

२. बोल्नु भन्दा पहिले सुन

एउटा साह्रै राम्रो भनाइ छ, यदि तिमी मौनता भन्दा सुन्दर र विनम्र बोल्न सक्छौ भने मात्रै बोल्न सुरु गर । यदि चुप बस्दा नै राम्रो हुन्छ भने बोलिरहनु जरुरत हुदैन । त्यस्तै महत्वपुर्ण कुरा हो, सुन्नु । हामी कमै मानिसमा मात्रै सुन्न सक्ने धैर्यता हुन्छ । कसैले आफ्नो कुरा भनिसकेको हुन्न, हामी प्रतिक्रिया वा अर्ति उपदेश दिन सुरु भइहाल्छौँ । यो हास्यास्पद मात्रै होइन, अपमानजनक पनि हो ।

कसैले केहि कुरा गर्न लाग्दैछ भने पहिले सम्पुर्णरुपमा उसको कुरा सुन्ने गर्नु पर्छ । कुरा पुर्णरुपमा सुनिसके पछि बोल्न थाल्दा राम्रो निष्कर्षमा पुग्न सकिन्छ । त्यस्तै बोल्दा बोल्दै कसैका कुरा काटेर आफ्ना कुरा सुरु गर्दा कुरा गर्ने वातावरण नै बिग्रिन्छ । यस्तोमा निष्कर्षमा नपुगिने वा गलत निष्कर्षमा पुगिने वा झैझगडा हुन सक्ने सम्भावना अत्याधिक हुन्छ ।

यस्तै आँ गर्दा अलङ्कार बुझ्ने होडमा हामीले सन्दर्भ नै बिगार्ने गरि गलत कुराहरु बुझिएको हुन सक्छ । यसैले आँ गर्दा अलङ्कार बुझ्न पट्टी नलागी उसका सबै कुरा सुनिसके पछि मात्रै के भनेको हो भन्ने बुझ्न पर्छ । यसो गर्दा दिमागमा अनावश्यक तर्क गर्नु पर्ने बोझ पनि रहदैन ।

३. खर्च गर्नु भन्दा पहिले कमाउ

कर्मचारी वा तलवमा काम गर्नेहरुले भनेको सुनिन्छ, नामै महिनावारी छ, अघिल्लो महिनाको तिरोतारो गर्दागर्दै सकिन्छ र कहिलै महिनापारी पुग्दैन । कतिको हदमा यो बाध्यात्मक पनि होला तर धेरै यस्ता मानिसहरु हुन्छन् ति आफ्नै कारणले तलबलाई महिनावारी भन्दै अनेक अर्थ लगाउँदै हिड्छन् ।

अर्को महिना आइहाल्छ भन्ने सोचाइले यो महिना अलिक बढि खर्च गर्ने प्रवृति देखावटी प्रवृति हो । यसले जीवनको अनिश्चिततालाई बुझेको हुदैन । भोली पैसा आइहाल्छ भनेर आज खर्च त गरिएला तर कसलाई थाहा कि भोली के पर्छ ? भोली यस्तो अवस्था आउँन सक्छ कि भोली आउँने पैसाले पनि भोलीको त्यो अवस्थालाई हल गर्न नसकोस् । यसैले एकदमै जरुरी अवस्थामा बाहेक रिन गर्नु वा अग्रिम खर्च गर्नु उपयुक्त हुन्न । यसले तनाव मात्रै बढाउँछ ।

४. लेख्नु भन्दा पहिले सोच

कुनै कुरा लेख्नु भन्नुको अर्थ अभिलेख राख्नु हो । अभिलेख राख्नुको अर्थ हो पछिसम्म हेर्न मिल्ने र अरुले थाहा पाउँन सक्ने हुनु हो । यसैले मनमा जे आयो त्यहि लेख्ने होइन । लेखाइको फैलावट र आयू निकै फराकिलो र लामो हुन्छ ।

अहिलेको सामाजिक सञ्जालको युग जहाँ हरेक मानिस आफै लेखक र प्रकाशक छ, त्यस्तोमा लेखेका कुराहरु फैलिन सेकेन्ड भन्दा कम समय नै पर्याप्त हुन्छ । यसैले कुनै पनि कुरा यस्ता सामाजिक साइटहरुमा लेख्दावखत यसले के कस्तो असर गर्न सक्छ भन्ने कुरा सोच्न पर्छ ।

क्षणिक आवेगमा लेखियो भने त्यस्ता कुराहरुले पछि नकारात्मक असर गर्छ र आफ्नो जीवनमा नै भारी पर्न जान सक्छ ।

५. हाप्नु अथवा आत्मसमर्पण गर्नु भन्दा पहिले कोशिस गर

संसारमै सबै भन्दा सजिलो काम हो हाप्नु वा आत्मसमर्पण गर्नु । यदि तपाईको करिअरको कुरा छ, यदि तपाईको खुसीको कुरा छ भने हाप्नु भन्दा पहिले कोशिस गर्न जरुरी हुन्छ । यदि तपाईले मानिसहरुलाई आफ्नो विचारको बारेमा सोध्नु भयो भने पक्कै पनि धेरै मानिसहरुले धेरै किसिमका अफ्ठ्याराहरुको बारेमा भन्नेछन्, फलानोले यस्तै गरेको थियो र यसरी असफल भयो भन्ने उदाहरणहरुको थुप्रो लाग्नेछ, यस्तोमा अरुको कुरा सुनेर आफ्नो विचारलाई नहाप्नुहोस् । कम्तिमा एक पल्ट लगनशिल भएर कोशिस गरिहेर्नुहोस् ।

यदि तपाईले आफुले चाहेको कुरा एक पटक पनि कोशिस नगरी हाप्नु भयो भने सारा जीवन तपाईलाई पछुतो हुनेछ कि तपाईले एकपल्ट पनि कोशिस गर्नु भएन । भनिन्छ बुढेसकालमा मानिसले ति कुराहरुको पछुतो गर्दैन, जुन उनीहरुले गरेर असफल भए वा बिग्रियो । बरु ति कुराहरुको पछुतो गरिरहन्छन्, जुन सोचे तर असफल भइएला भन्ने डरले गरेनन् ।

तर जे कुरामा पनि यो नहाप्ने भन्ने कुरा पनि हुदैन । कतिपय कुराहरु भने हाप्दा नै जीवनलाई आनन्द हुन्छ ।

६. मर्नु भन्दा पहिले बाँच

जीवनको परमसत्य भनेकै मृत्यु हो । मर्नु छँदैछ । मर्नुको अर्थ सबै सकिनु हो । आफुबाट गुम्नु हो र, अरुबाट आफु गुम्नु हो । यो विच्छेद एकै पटक मृत्युमा मात्रै अनुभव गर्दा जीवन सुखमय हुन्छ । र, यसलाई स्विकार गर्दा जीवन शान्त हुन्छ ।

भोली केहि भइहाल्ला कि भन्ने डरमा मानिसले आज बाँच्न छोड्न । भोलीका लागि संग्रह गर्दा गर्दै मानिसले आज बिर्सिन्छ । भोली कहिलै आउँदैन । र, मानिस आफुले संग्रह गरेको कुराको प्रयोग गर्दै नगरी बितिजान्छ । जतन र लोभ बिचको फरक छुट्याउँनु पर्छ । व्यवहारिक रुपमा यो अलिक कठिन हुन्छ तर असम्भव हुदैन ।

यी भए ६ नियमहरु । आशा छ तपाईले प्रयोग गर्नुहुन्छ । यसमा छुटेका केहि कुरा भए प्रतिक्रिया लेख्नुहोला ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।

 
 
  
 

You may also like