काठमाडौँ ।माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।
कार्यदलले बिहीबार प्रतिवेदन बुझाएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।
कार्यदलले परिवेशको आंकलन गरेर परीक्षा सञ्चालन गर्न सुझाव दिएको उनले जानकारी दिए । कार्यदलले दिएको प्रतिवेदनलाई थप अध्ययन गरी बोर्डले परीक्षाको विषयमा निर्णय गर्ने उनले बताए ।
प्रतिवेदन हेर्दा अधिकांशको बुझाई परीक्षा भइदिए हुन्थ्यो भन्ने रहेको समेत उनले बताए । कार्यदलले बुझाएको प्रतिवेदनको जिस्ट भनेको परिवेशको आकलन गरेर परीक्षा सञ्चालन गर्नुपर्ने नै रहेको उनले बताए ।
परीवेशलाई बोर्डले कसरी आकलन गर्ने भन्ने विषयमा आजदेखिनै बोर्डमा छलफल चलिरहेको समेत उनले जानकारी दिए । परीक्षाको विषयमा जतिसक्दो चाँडो निर्णय गर्ने उनले बताए ।
कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिएकाले बोर्डले गत वैशाख २७ गते कक्षा १२ र एसईई पूर्वनिर्धारित परीक्षालाई स्थगित गर्दै परीक्षाको मोडालिटी तयार गर्न कार्यदल गठन गरेको थियो ।
कार्यदलले प्रतिवेदन बुझाइसकेकाले परीक्षाको विषयमा चाँडै निर्णय गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।
उनका अनुसार बोर्डले प्रतिवेदनको विषयमा अध्ययन सुरु गरेको छ । त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्छ ।