दैलेख । गुराँस गाउँपालिका–७, लालीकाँडा दैलेखका देवकुमार विसीको परिवार १५ वर्षदेखि सुर्खेतको वीरेन्द्रनगरमा कोठा भाडामा बस्दै आएको छ । एक गैरसरकारी संस्थामा कार्यरत उनी पछिल्ला केही वर्षदेखि गुराँस गाउँपालिकामा कार्यरत सब–इन्जिनियर उदयराज जैसीको वीरेन्द्रनगर–१० स्थित बौद्धिक टोलको घरमा बस्दै आएका छन् ।
दोस्रो लहरको कोरोना संक्रमणका कारण देवकुमारकी ४० वर्षीया श्रीमती हिरा कोरोना संक्रमित भइन् । हिरालाई वैशाख २४ कर्णाली प्रदेश अस्पतालमा भर्ना गरियो । उपचारकै क्रममा उनको २८ गते मृत्यु भयो । घरधनीले कोरोना संक्रमण भएदेखि नै निस्कन दवाव दिइरहेका थिए । यस्तोमा मृत्यु संस्कार कोठामा बसेर गर्न दिने कुरो भएन । देवकुमारले श्रीमतीको काजकिरीया ससुरालीमा गर्नुपर्यो ।
मंगलबार उनी कोठा खाली गर्ने तयारी गर्दै थिए । त्यसका लागि केही आफन्तलाई सामान सार्न पठाएका पनि थिए । घरधनी जैसीले ढोकामा उभिन पनि दिएनन् । ‘श्रीमती विरामी भएर अस्पताल लैजाँदा म र छोराछोरी एकसरो कपडामा कोठाबाट निस्केका थियौं,’ देवराजले भने, ‘यस्तो संकटको बेला पनि उहाँ (घरधनी) ले कोठाभित्र पस्न दिनु भएन ।’ नागरिक दैनिकबाट