कोठा तताउँदा निसासिएला है !

by समतल अनलाइन

काठमाडौं । बन्द कोठामा दाउरा वा कोइला बालेर सुत्ने गर्नुभएको छ ? कि हिटर बालेर सुत्नुहुन्छ ? कोठा न्यानो बनाउन ग्यास गिजर त प्रयोग गर्नुहुन्न ? ‘जाडो याममा झ्यालढोका बन्द गरेर कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने गर्नुहुन्छ भने अकालमै ज्यान जान सक्छ’, भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. राजन पाण्डे भन्छन्, ‘झ्यालढोका लगाएर इलेक्ट्रिक हिटर वा कोइला बालेर बस्नै हुँदैन । आगो बाले झ्यालढोका खुला हुनुपर्छ । आफू होसमा हुँदैमा आगो निभाउनु पर्छ । हिटर बन्द गर्नुपर्छ ।’

यसमा ध्यान नदिँदा निसासिएर ज्यान गुमाएका सबै घटना राति नै भएको पाइएको डा. पाण्डे सुनाउँछन् । प्रत्येक वर्ष यस्ता घटना भइरहेका हुन्छन् । अझ गाउँभन्दा सहरमा बढी भएको छ । पढालेखा व्यक्ति नै पीडित भएका छन् ।

डा. पाण्डेका अनुसार दाउरा, कोइला, विद्युतीय हिटर जे बाल्दा पनि अक्सिजन चाहिन्छ । बन्द कोेठामा अक्सिजन छिर्न नपाए प्रज्ज्वलित वस्तुबाट कार्बन मोनोअक्साइड बढी निस्कन्छ । यो हाम्रो रक्तकोषको हेमोग्लोबिनमा टाँसिन्छ । टाँसिने दर २०० देखि २३० प्रतिशतले बढी हुन्छ। कार्बन मोनोअक्साइड हेमोग्लोबिनमा टाँसिएर कार्बोअक्सी हेमोग्लोबिन बन्छ । जुन अक्सिजन हाम्रो रगतमा जान्छ । हेमोग्लोबिनले लिएर अक्सिजन लिएर छोड्ने हो । कार्बन मोनोअक्साइडले छोड्नै सक्दैन। रगत र तन्तुहरूमा अक्सिजनको मात्रा कमी हुन्छ ।

‘मान्छे लठ्ठ सुतेको हुन्छ । सुरुमा टाउको दुख्ने लठ्ठ बनाउँछ । अरू मान्छेमा पहुँच हुन्न । एकले अर्कोलाई सहयोग गर्ने अवस्था पनि हुन्न । सबैको अवस्था एउटै हुन्छ । निदायो होला भन्ने हुन्छ । भोलिपल्ट नउठेपछि घच्घचाउँदा मरिरहेको वा बेहोस भएको फेला पर्छन्’, डा.पाण्डे भन्छन् । उनले भने, ‘दिउँसो भए निस्सासिने हुँदा ढोका खोल्ने, बाहिर निस्कने हुन्छ । जाडोमा मस्त निदाइरहेको बेला निदाएको हो कि लठ्ठ बनाइएको हो भन्ने भेउ नै पाउँदैन । सुरुमा मान्छेलाई टाउको दुख्छ । अलि गाह्रोजस्तो अनुभव हुन्छ । थाहा भयो भने पनि सबै जना एउटै अवस्थामा हुन्छन ्। एकले अर्कोलाई सहयोग गर्ने अवस्था नै हुन्न ।’

जानकारका अनुसार कोठामा धेरै जना भए अक्सिजन धेरैले लिने भए । एउटा कोठामा धेरै जना सुतेको, झ्यालढोका टम्म लगाएको भए त्यत्ति नै समस्या बढेर जान्छ । एक जना मात्र छ भने मृत्यु नै हुने सम्भावना कम हुन्छ । कोठामा केही न केही अक्सिजन आयो भने मान्छे मरिहाल्दैन । मान्छे धेरै छन् । झ्याल ढोेका लगाएको छ भने अक्सिजनको खपत बढी हुने चिकित्सक बताउँछन् । यस्तो घटनामा व्यक्ति बाँच्यो भने पनि कतिको त पार्किन्सन डिजिज जस्तो हात काप्ने, चक्कर आउने, मन्द बुद्धिको हुने यस्तो समस्या हुन सक्छ । नसासम्बन्धी समस्या पनि आउन सक्ने चिकित्सकहरू बताउँछन् ।

अर्का डा. सुवास जिसी निस्सासिएका व्यक्तिलाई तत्कालै अक्सिजन दिन अस्पताल लैजानुपर्ने बताउँछन् । उनको सुझाव छ, ‘घटनाबारे थाहा पाउनेबित्तिकै अस्पताल लगे ज्यान जोगाउन सकिन्छ ।’ उनका अनुसार खुला ठाउँमा आगो बालेर पनि बस्ती नै सखाप भएका घटना पनि सुनिन्छन् । यस्तो आगो पनि समयमै निभाएर सुत्नु पर्छ । घरभित्र र बाहिरको आगो पनि होसमा हुँदै निभाएर सुत्नु पर्छ । डा. पाण्डेको सुझाव छ, ‘बल्ने कुरा, बन्द कोठामा होस् हुँदै बन्द गरौं । जोखिमबाट बच्न सकिन्छ ।’

४ को मृत्यु, ३ घाइते
नेपालगन्जमा बुधबार राति निसासिएर चार जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । उनीहरू कणर्ाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको खरिद तथा आपूर्ति शाखा (मेडिकल स्टोर) को क्वार्टरमा सुतेका थिए ।

मृत्यु हुनेमा २४ वर्षका धनप्रसाद भट्टराई, उनका ३ महिनाका छोरा इप्सन, ४५ वर्षीया आमा कोपिला र आफन्त ४० वर्षीया नन्दकली भट्टराई छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार कालिकोटको खाँडाचक्र नगरपालिका-६ का भट्टराई मेडिकल स्टोरका कार्यालय सहयोगी हुन् ।

एसपी अधिकारीले भने, ‘कोइला बालेर सुतेका रहेछन् । कार्बन मोनोअक्साइड ग्यासका कारण निसासिएर मृत्यु भएको हो ।’ प्रहरीले बिहीबार बिहान ५ः३० मा सातै जनालाई उपचारका लागि भेरी अस्पतालको आकस्मिक कक्षमा ल्याएको थियो। अस्पताल नपुग्दै चार जना मृत्यु भइसकेको पाइएको थियो । भट्टराईका १८ वर्षका भाइ नरेन्द्रको भेरी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । उनकी पत्नी २४ वर्षीया सुशीला, ३ वर्षका छोरा दिवसको उपचारपछि होस खुलेको डा.सुवास जीसीले बताए । डा. जीसीले भने, ‘आमाछोराको होस खुलिसकेको छ । उनीहरू बोलिरहेका छन् । अर्को एक जनाको पनि स्वास्थ्य सुधारोन्मुख छ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like