तरलता समस्या समाधान हुँदै

काठमाडौँ । आर्थिक वर्ष सुरु भएदेखि यता लगातार रूपमा भइरहेको लगानीयोग्य पुँजीको अभाव अर्थात् तरलताको समस्या समाधान हुने संकेत देखिन थालेको छ ।

फागुनको तेस्रो सातामा आएर वाणिज्य बैंकहरूमा निक्षेप संकलन बढेपछि तरलता समस्या समाधान हुने संकेत मिलेको हो । बैंकहरूले निक्षेपमा ब्याज बढाएपछि र राष्ट्र बैंकले पनि नीतिगत व्यवस्थापन गरेपछि बैंकहरूमा तरलता बढ्न थालेको हो । गत साता निक्षेपमा राम्रै सुधार देखिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत फागुन १५ देखि २० गतेसम्ममा १२ अर्ब निक्षेप बढेको छ भने १२ अर्ब नै नेपाली मुद्रामा कर्जा लगानी भएको छ ।

यद्यपि, विदेशी मुद्राको निक्षेप र कर्जालाई आधार मान्ने हो भने जति कर्जा लगानी भएको छ त्योभन्दा दोब्बरले निक्षेप वृद्धि भएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार फागुन १३ गतेसम्म बैंकहरूमा कुल ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । फागुन २० गतेसम्म भने ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप देखिएको छ । अर्थात् एक सातामै ११ अर्ब रुपैयाँले निक्षेप थपिएको छ । सोभन्दा अघिल्लो सातामा जम्मा १ अर्ब मात्र निक्षेप थपेको थियो । फागुनको पहिलो सातामा पनि १ अर्ब मात्र निक्षेप थपेको थियो ।

गत साता कर्जा पनि ५ अर्बले बढेको छ । गत माघ महिनासम्म ४१ खर्ब ५९ अर्ब कर्जा रहेकोमा दोस्रो सातामा ६ अर्ब बढेर ४१ खर्ब ६५ अर्ब पुगेको थियो अहिले आएर बैंकहरूको कुल कर्जा लगानी ४१ खर्ब ७० अर्ब पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

 

 
 
  
 

You may also like