‘यास’ चक्रवातको प्रभाव : हावाहुरीसहित वर्षा र हिमपात, पर्वतारोहण नगर्न आग्रह

काठमाडौं। अहिले नेपालको मौसममा बंगालको खाडीमा बनेको ‘यास’ चक्रवातको आंशिक प्रभाव परेको छ । जसले गर्दा मंगलबार बिहानदेखि नै देशका विभिन्न स्थानमा वर्षा जारी छ ।

पूर्वीमध्य बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यास् उत्तर–उत्तरपश्चिम सर्ने क्रममा मंगलबार साँझबाट धेरै शक्तिशाली चक्रवातमा परिणत भएको छ । यसको असरस्वरुप पूर्वी नेपालबाट शुरु भएको असर क्रमशः पश्चिमतर्फ सर्ने क्रम जारी छ । यसको असरस्वरुप पानी पर्ने तथा हावाहुरी चलिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारतमा आज यास चक्रवात बज्रिन आइपुग्ने अनुमानले बंगाल र ओडिसाका लाखौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चक्रवातको आंशिक प्रभाव मात्रै नेपालमा परेको हो । ठूलो हावाहुरी भने नचल्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् ।

‘चक्रवातको असर शनिबारसम्म देखिने छ । आइतबारबाट कम हुँदै क्रमशः हट्दै जानेछ’, मानन्धर भन्छिन्, ‘काठमाडौंमा गत २४ घण्टामा काठमाडौंमा ५.६ मिलिमिटर पानी परेको थियो । आज काठमाडौंमा त्योभन्दा ठूलो वर्षा हुने सम्भावना रहेको छ ।’ उनका अनुसार आज दिनभर काठमाडौंको मौसममा बदली भइरहने छ ।

चक्रवातको असर शनिबारसम्म नेपालका भू–भागमा पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । आज प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । गण्डकी, वाग्मती प्रदेश र प्रदेश–१ का उच्च हिमाली–पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मेघगर्जन, चट्याङ, हावाहुरी र असिना पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् मानन्धरको आग्रह छ । उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात–वर्षा तथा उच्च बेगको हावाहुरी समेत आउने सम्भावना रहेकाले पर्वतारोहण नगर्न तथा नगराउन विभागले भनेको छ ।

 
 
  
 

You may also like