बुटवल खराब कामको मानक बनेको छ, सुधार गर्नुछ : पाण्डे [अन्तर्वार्ता]

बुटवल ।बुटवल उपमहानगरपालिकामा प्रमुख पदका लागि लोकप्रिय व्यक्ति खेलराज पाण्डे चुनाबी मैदानमा छन् । नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका उनलाई नेपाली कांग्रेससहितका सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन प्राप्त छ । पाँच दलीय संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार बनेका खेलराज पाण्डे बुटवलबासीमाझ सुपरिचित नाम हो । बुटवलका टोलटोलमा परिचित पाण्डे बुटवलको विकासका पर्याय हुन् । यसअघिको निर्वाचनमा झिनो मतअन्तरले पराजित भएपनि उनी बुटवलका हरेक विकास निर्माणका काममा जोडिएका छन् । बुटवलबासीका समस्याको समाधानमा बुटवल उपमहानगरपालिका, प्रदेश सरकार, संघ सरकार र ती मातहतका कार्यालयहरुमा खटिरहेका थिए । चाहे बुटवलको मुख्य बजार क्षेत्र होस्, चाहे मोतीपूर, सेमलार, बेलभरिया, नयाँगाउँ, बेलबास, झोलुंगे पुल, नहरपुरजस्तो क्षेत्र होस्, उनी घरघरका समस्या समाधानका लागि पुगेकै थिए । बुटवलको समस्यादेखि नजिकबाट परिचित पाण्डे पाँचदलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेपछि बुटवलबासी उत्साहित छन् । पाण्डे काँग्रेसभित्र मात्रै होइन बुटवल बासीमाझ नै सरल र सहज स्वभावका नेताको रुपमा परिचित छन् । पदमा हुँदा र नहुँदाका अवस्थामा पनि उनी समग्र नगरबासीको सुखदुखमा सरीक हुने जनताको घरदैलोमा निरन्तर पुगिरहने र सादा जीवन र सहज स्वभावका कारण उनी पार्टी भित्र र बाहिर पनि लोकप्रिय रहेको बुटवल नगरबासीहरु बताउँछन् । २०२६ साल फागुनमा स्याङ्गजाको कालीगण्डकी २ मा जन्मिएका पाण्डे पछिल्लो तीन दशक देखि बुटवलमा सक्रिय राजनीतिमा संलग्न छन् । २०३९ सालमा स्याङ्गजाकै आदर्श मावि स्याङ्जामा नेपाल बिद्यार्थी संघको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो । रुपन्देहीमा २०५२ सालमा नेविसंघको सचिव, २०५९ सालमा तरुण दल रुपन्देहीको अध्यक्ष हुँदै २०६० सालमा तरुण केन्यि सदस्य भएका पाण्डे २०६७ सालमा नेपाली काँग्रेस बुटवल नगर सभापति निर्वाचित भएका थिए । गत मंसिरमा सम्पन्न काँग्रेसको महाधिवेशनबाट उनी पुनः नेपाली काँग्रेस बुटवल नगर सभापतिमा निर्वाचित भए । बुटवल उपमहानगरपालिकामा प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेसँग हाम्रा सहकर्मीले गरेको विशेष कुराकानी ।

बुटवल उपमहानगरपालिकाको प्रमुखमा लड्दै हुनुहुन्छ ? जनताको घरमा पुग्दा कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
बुटवलबाट अहिले म प्रमुख पदमा उठेर जनतासंग प्रत्यक्ष भेटघाट हुदै गर्दा उहाँहरुले ठीक मान्छेले टिकट पाउनुभयो । हामीले एक पटक तपाइलाइ अवसर दिन्छौं जिताउने छौं ढुक्क भएर लाग्नुस भन्नु भएको छ । नगरको निर्वाचन तित्नुस र हामीले चाहेको सफा सुन्दर, हरियालीयुक्त र समृद्ध बुटवल बनाउनुस भनेर आर्शिवाद शुभकामना दिइरहनु भएको छ । सबैको माया पाएको छु । तपाइलाइ एक पटक मौका दियौं भने राम्रो काम गर्नुहुनेछ भन्ने विश्वास छ भनेर जितको शुभकामना दिइरहनु भएको छ । यसअघि पटक पटक विश्वास गरेका दलहरुले निराश बनाएको, ठूला ठूला सपना देखाएर केही पनि काम नगरेकोमा एकखालको निराशा पनि देखिन्छ । जनताले चुनाबमा भोट हालेर जितेपनि मन जित्न नसकेको नगरबासीको अनुभूति मैले सुन्न पाएको छु । म फरक दलको भएका कारणले यसो भनिरहेको छैन, बुटवलका अधिकांश बासिन्दालाई तपाइँले सोध्नुभयो भने उहाँहरु हालका जनप्रतिनिधि र उहाँहरुको पार्टीप्रति असन्तुष्ट हुनुहुन्छ । त्यसका अनेक कारण रहेका छन् । यहाँ एकदमै ठूला सपना बाँडिए । संघीय सरकारले गर्ने काम राम्रो भए जस लिने, नराम्रो भए पन्छिने गरेको पनि पाइयो । यो कुरा यहाँका जनताले बुझेका छन् । बुटवल उपमहानगरपालिकाको जनप्रतिनिधि भएपछि बुटवलका हरेक समस्याको समाधानको खोजी त्यहाँको प्रमुखको कुर्सीमा बसेर खोजिनुपर्छ । आफुले समाधान गर्न नसकिने अवस्था वा क्षेत्र हो भने पनि त्यसका लागि प्रयत्न गरिनुपर्छ । यस्तो भावना ममा पनि आउँथ्यो । जनतामा पनि यस्ता भावनाहरु छन् । उहाँहरुले जनतालाई पाठ पढाउने जनप्रतिनिधि हैन, जनताका गुनासो सुन्ने र समाधान खोजिदिने जनप्रतिनिधि खोज्नुभएको छ । जनताको यो माया सदभाव प्रति म आभारी छु र त्यो माया र सद्भाव भोटका रुपमा व्यक्त हुन्छ भन्ने विश्वासमा छु ।

तपाईँलाई किन जिताउने ?
यो अन्तरवार्तामा म सबैकुरा भनेर त सक्दिन । कतिपय कार्यक्रमहरु विस्तृतमा उल्लेख गर्नुपर्ने हुन्छ । तरपनि, म केही मूख्य योजनाहरु भन्न चाहन्छु । म बुटवललाई देशकै समृद्ध आर्थिक केन्द्रका रुपमा विकास गर्न चाहन्छु । यहाँका नदीकिनारका बासिन्दाले सुरक्षित रुपमा आफ्नै जग्गाजमीनमा बस्न पाउने अधिकार दिलाउनु मेरो मूल कर्तव्य हो । यो नागरिकको मौलिक हक हो । यहाँको सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासलाई समाधान गर्नेछु । त्यो पनि बुटवलभित्र नै व्यवस्थापन गरेर समाधान गरिनेछ । ज्योतिनगर पहिरोका कारण के कस्तो क्षति भयो भन्ने यहाँलाई जानकारी नै छ । त्यहाँ जनप्रतिनिधिका रुपमा के गरिनुपथ्र्यो र त्यसो नगर्दाको परिणाम के भयो भन्ने पनि जनताले नै देखाइदिएका छन् । मोतीपूर औद्योगिक क्षेत्रको समस्या पनि उस्तै छ । त्यहाँ पनि यो मेरो गढ हो भन्ने जनप्रतिनिधिलाई जनताले नै कसरी लखेटे त्यो पनि बुझ्नुभएकै छ होला । यसर्थ, यी समस्याको समाधान जनतालाई चिढाएर, रुष्ट बनाएर, त्यहाँबाट धपाएर गर्ने हैन । उनीहरुलाई सुरक्षित अनुभूति हुनेगरी र अपनत्व महसुस हुनेगरी समाधान गरिनुपर्छ । त्यसका लागि म चरणवद्ध योजना कार्यान्वयनमा ल्याउनेछु । स्थानीयबासिन्दाको मन दुख्ने काम मैले कहिले पनि गर्नेछैन । तिनाउ दानव करिडोरका बासिन्दा अहिले पीडामा छन् । त्यहाँ कोही पनि बसोबास गर्दैन भनेर बुटवल उपमहानगरपालिकाले नै भनिरहेको अवस्था छ । तर त्यहाँ ठूलो बस्ती छ । त्यो बस्तीका बासिन्दाको मर्मअनुसार समाधान खोजिनुपर्छ । म त्यो समस्या समाधानमा प्रतिबद्ध छु । विगत लामो समय भयो, बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क चिडियाखोलासम्मको सडकको दुरावस्था, धुलोले बुटवलबासीको स्वास्थ्यमाा गम्भिर असर परेको छ । सडक छेउको व्यापार व्यवसाय चौपट भएको छ । कैयौं व्यवसायीहरु विस्थापित भएका छन् । चुनाबको मुखमा आएर काम देखाउन भित्री सडकहरु भत्काएर अलपत्र पारिएका छन् । जनताका समस्या के हुन् भन्नेमा ध्यान नै दिइएकोे छैन । सडकका आयोजनाहरु समयमै निमार्ण सम्पन्न गर्न ठोस र प्रभावकारी कदम चाल्ने छु । ढल निकास र खानेपानीको समस्या समाधानका लागि प्रभावकारी काम गरी समाधान गर्नेछु । बुटवलमा खानेपानीका लागि पहाडका भीरमा भन्दा बढी समस्या देख्छु म । शुद्ध पिउने पानीका लागि ठाउँठाउँमा भाँडा लिएर लाइन लाग्नुपर्छ । धारामा कहिले पानी आउँछ कहिले आउँदैन । अलिअलि वर्षा भयो कि धमिलो पानी आउँछ । यस्तै, शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा महत्वपूर्ण योजना हामीले बनाएका छौं । अर्को महत्वपूर्ण कुरा भनौं, बुटवललाई हेरेर मानिसहरुमा संघीयताप्रति नै अविश्वास जगाउने काम भएको छ । बुटवल खराब कामको मानक बनेको छ । यहाँका जनप्रतिनिधिले गरेका बेथिति देखेर जनतामा जनप्रतिनिधिप्रति चरम असन्तुष्टि देखिन्छ । उपमहानगरपालिका भ्रष्टाचारमा डुबेको छ । जनताले तिरेको करको सदुपयोग भएको छैन, जनप्रतिनिधिले आफ्नो कमाइखाने भाँडो बनाएका छन् भन्ने जनगुनासो छ । सेवाप्रवाहमा उस्तै समस्या छ । महालेखा परीक्षकको कार्यालयका रिपोर्ट हेर्नुस्, बुटवलका बेथिति कति छन् । कसरी जनताको कर लुटेर खाएका छन् भन्ने प्रष्ट हुन्छ । म यी सबै बेथितिहरु रोक्न चाहन्छु । जनताले खुनपसिना बगाएर तिरेको करको सदुपयोग गर्न चाहन्छु । त्यो करबाट लाभ लिने पहिलो हकदार जनता हुन् । त्यसको प्रत्याभूति दिलाउन चाहन्छु । बुटवलबासीलाई सबैभन्दा पहिले के चाहिएको हो ? त्यो कुराको पहिचान गरेर काम गर्नुपर्ने हो कि होइन ? तर, यहाँ त, प्रचारमा आउनका लागि जे पनि जस्ता पनि कार्यक्रमहरु ल्याएर बजेट सक्ने काम भएको छ । हामी प्रचारमुखी कुनै पनि काम गर्दैनौं । भ्यूटावर बनाउनेजस्ता अनुत्पादक काममा हाम्रो ध्यान जानेछैन । आवश्यकताका आधारमा प्राथमिकता तय गरेर कार्यक्रमहरु ल्याइनेछन् । यस्ता अरु धेरै कार्यक्रम र योजनाहरु हामीले लिएका छौं । हामी पाँचदलीय गठबन्धनबाट चुनाबी मैदानमा छौं । गठबन्धनका एजेण्डाहरु पनि मैले साझा रुपमा अघि बढाउनेछु । हाम्रो पार्टीको बुटवलको घोषणा पत्र र राष्ट्रिय एजेण्डाहरु र कार्यक्रमहरु छन् । तीनलाई पनि म समावेश गरेर सबै दलहरुलाई अपनत्व हुनेगरी सहभागी गराएर अघि बढ्नेछु । यो मेरो प्रतिवद्धता हो ।

तपाइँले गठबन्धनको कुरा गर्नुभयो ? गठबन्धनका दलहरुबीचको तालमेल कस्तो छ ?
शुरुशुरुमा बुझाईमा केही समस्याहरु थिए । ती सबै समाधान भएका छन् । यो गठबन्धन राष्ट्र जोगाउनका लागि, संविधानको रक्षाका लागि, मुलुकलाई अस्थीरता र अराजनीतितर्फ धकेलिनबाट जोगाउनका लागि निर्माण भएको हो । जतिबेला नेकपा विघटन र एमाले विभाजन भयो, त्यसले उत्पन्न गराएको परिस्थितिले मुलुक नै संकटग्रस्त अवस्थामा पुग्न थालेको थियो । यदि नेपाली कांग्रेसले त्यसको अगुवाई नगरेको भए र पाँच दल एकैठाउँमा नआएको भए हाम्रो संविधान अहिलेको अवस्थामा रहदैनथ्यो । जनताको बलिदानीले प्राप्त गरेको यो उपलब्धि गुम्ने खतरा थियो । जनतामाझ यसबारे भ्रम फिजाउँन खोजिएको छ । एमालेले जनतालाई आफ्ना कमजोरी लुकाएर गठबन्धनको खेदो खनेको छ । किनभने अहिले एमालेसँग अरु कुनै एजेण्डा छैनन् । देशलाई अस्थीर बनाउने र अराजनीतिक बाटोमा लैजाने उसको योजना असफल भएको छ । यो कुरा उसले लुकाउनका लागि गठबन्धनविरोधी नारा लिएर जनतामाझ गएको छ । नेपाली कांग्रेस सत्तामा आउन चाहिरहेकै थिएन । ५ वर्षको कार्यकाल पूरा होस् भन्ने नै थियो । हामी जनताको मतलाई सम्मान गर्छौं । हामी अराजनीतिक गतिविधिलाई कहिले पनि प्राथमिकता दिदैनौं । तर, मुलुकको अवस्था संकटतर्फ जान थालेपछि मुलुकलाई बचाउनका लागि कांग्रेस काँध थाप्न आएको हो । त्यसमा अरु चार दल सहभागी भए । मुलुक अस्थीरतातर्फ जानबाट बच्यो । एमालेले अनेक तर्क गरेपनि वास्तविकता यही हो । यो परिस्थितिमा बनेको गठबन्धन संविधानको रक्षा, लोकतन्त्रको रक्षा, जनताका अधिकारको रक्षा, प्रेस स्वतन्त्रता, स्वाभिमानसहितको राष्ट्रियताको रक्षाका लागि निरन्तर लागिरहेको छ । जुन शक्तिले मुलुकलाई नै ध्वस्त पार्ने, संविधानलाई नै ध्वस्त पार्ने षडयन्त्र ग¥यो त्यसलाई पराजित गर्नुपर्छ र त्यस्तो शक्तिलाई मुलुकमा उदय हुन दिनुहुँदैन भन्ने उदेश्यका साथ हामी चुनाबमा पनि सँगसँगै अघि बढेका छौं । यो गठबन्धनका दलहरुबाट केही साथीहरुले उम्मेदवारी दिएपनि मलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गर्नुभएको छ । यसले हामीहरुलाई, यो गठबन्धनलाई अरु धेरै बलियो बनाएको छ । हामीबीचमा आपसी सम्बन्ध र सद्भाव बढेको छ । कुनै पनि समस्या छैन । सबै दलका साथीहरुले हामीले निर्वाचन जित्छौं, जित्नुपर्छ र हाम्रो जित सुनिश्चित छ भन्ने कुरा गर्नुभएको छ । हामी फराकिलो अन्तरले बुटवलमा चुनाब जित्छौं । बुटवलबासीलाई साँच्चिकै जनप्रतिनिधि आएको अनुभूति दिलाउनेछौं ।

चुनाब सहजै जित्छौं भन्नुभयो, त्यसका आधारहरु के हुन् ?
म २०७४ को चुनाब लडेँ । मेरो २३०० जति भोट कम भयो । त्यो चुनाबदेखि यो चुनाबसम्म मैले जनताका समस्या समाधानका लागि निरन्तर लडिरहेको छु । जतिले मलाई भोट दिनुभएन उहाँहरु वास्तवमै पछुताउनुभएको मैले पाएँ । हामीले गलत व्यक्तिलाई जिताएछौं भन्ने अनुभव बुटवलबासीले गरेको मैले पाएको छु । अघिल्लो चुनाबमा भ्रममा परिएछ भन्नेहरु अहिले मलाई नै जिताउन खटिनुभएको छ । किनभने, जति काम जितेका मान्छेले गर्न सकेनन्, मैले नजितेरै पनि गरेँ । मैले जितेको भए त्यसको कैयौं गुणा धेरै काम म गर्न सक्थेँ भन्ने कुरा जनताले बुझ्नुभएको छ । अर्को कुरा, बुटवल नयाँ शहर होइन । यहाँका बासिन्दाको आफ्नै खालको अपनत्व छ । पूराना बासिन्दाको लगाव फरक खालको छ । नयाँ बासिन्दाको फरक खालको लगाव छ । ती दुवै खालका बासिन्दाको मन जित्न सक्नुपर्छ । उहाँहरुको भावनाको सम्मान गरेर काम गर्न सक्नुपर्छ । यो काम म गर्न सक्छु । बुटवलमा हाम्रो पार्टी अहिले एकजुट छ । कुनै समस्या छैन । संगठन बलियो छ । प्रत्येक टोलका समितिहरु सक्रिय छन् । एकजुट छन् । अहिले थपिएका नयाँ मतदाता २३ हजार जति छन् । यी मतदातामा धेरै युवा हुन् । केही नामावली सारेर आएकाहरु छन् । युवा मतदाताको मत मलाई आउँछ । म युवाको भावना बुझ्छु । युवाका आवश्यकता बुझ्छु । हामी युवापिढीलाई प्राथमिकताका साथ योजना र कार्यक्रमहरु ल्याउँछौं । युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्न म रोजगारका कार्यक्रमहरु ल्याउँछु । यसकारण पनि युवाको पहिलो रोजाईमा म पर्छु । नामावली सारेर आउनेहरु गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, कपिलवस्तु, नवलपरासी, पर्वत, वाग्लुङ, प्युठानलगायत अरु केही जिल्लाबाट आएका छन् । यी जिल्लाका साथीहरुसँग मेरो राम्रो नेटवर्क छ । अर्को कुरा, म बुटवल उपमहानगरपालिकामा कुनै पेशा व्यवसाय गरेर थाकेर, रिटायर्ड हुने बेलामा थकाई मार्न जाँदैछैन । म एउटा जोश, जाँगर लिएर बुटवललाई म परिवर्तन गर्छु । यहाँका बासिन्दाको निराशा हटाएर उत्साह भर्छु, एउटा नयाँ आशा जगाउँछु भन्ने दृढ अठोटका साथ उम्मेदवार बनेको हुँ । यहाँका पाको पुस्ताको फरक खालको अवस्था छ । यहाँको पाको पुस्तामा पहाडको झल्को आउँछ । गाउँको निरश मेटिन्छ । उहाँहरुलाई आफ्नो पुख्र्यौली थलोको साइनो मेट्ने वातावरण चाहिएको छ । त्यो वातावरण म बनाउन सक्छु । मसँग त्यस्ता योजना छन् । तपाइँले देख्नुभएकै होला, बुटवल उपमहानगरपालिकामा बितेका ५ वर्षमा भएका कति कार्यक्रममा अरु दलहरु सहभागी भए । अरु दलका कुरा कति सुन्ने वातावरण थियो ? कस्तो व्यवहार थियो अरु दलहरुलाई ? त्यसमा पूर्णरुपमा परिवर्तन ल्याउनेछु । सबै दल, सबै समुदाय, सबै उमेर, सबै भेग, सबैखालका मान्छेले बुटवल उपमहानगरलाई आफ्नो ठान्ने वातावरण बनाउनेछु । यसअघिको निर्वाचनमा भोट दिने सबै भोट मलाई आउनेछन् । यसअघि भोट नदिएका ६० प्रतिशत बुटवलबासीले मलाई भोट दिनेछन् । एमालेले जनमुक्ति पार्टीसँग तालमेल गरेको भनेको छ, तर त्यो नाममात्रैको तालमेल हो । त्यहाँका करीब ७५ प्रतिशत मत हामीलाई आउँछन् । अर्को बलियो आधार, हाम्रो गठबन्धन हो । गठबन्धन दलहरुबीचमा अहिले एकदमै सौहार्दपूर्ण वातावरण बनेको छ । हामीहरु एकजुट भएर एकसाथ अघि बढेका छौं । यसआधारमा हाम्रो गठबन्धनको जित सुनिश्चित छ ।

सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासको मुद्दा जहिले पनि उठ्छ, तर समाधान हुँदैन । कसरी समाधान गर्नुहुन्छ ?
सुकुम्बासी समस्याहरुको बारेमा कुरा गर्दा यसका अल्पकालीन र दीर्घकालीन उपायहरु छन् । अल्पकालीन उपायमा हामी उपमहानगरपालिकामा दर्ता प्रक्रिया सुरु गरेर उपमहानगरपालिका भित्र यसलाई एउटा मापदण्डमा ल्याउन सक्छौ र यसको नामसारीको प्रक्रियाहरु वडाहरु मार्फत लैजान सक्छौ यति मात्रै गर्न सक्यौ भने धेरै समस्याहरु यसबाट समाधान हुन्छ । यसअघि देखिएका विकृतिहरु हटेर जान्छन् र दीर्घकालीन समस्या भनेको लालपुर्जा प्रदान गर्ने हो त्यो नै हाम्रो मुख्य उदेश्य हो । भूमि सम्बन्धी कार्यालयहरु गठन भएका छन् त्यस मार्फत कामहरुको टुगंो लगाउँछौ । हामी लालपूर्जाका नाममा ललिपप देखाउँदैनौं । एमालेले जस्तो भोटका लागि समाधान गर्छु भन्दैनौं । लालपूर्जा भनेर निस्सा वितरण गर्दैनौं । यसको समाधान गर्नसक्ने आधार तयार गरेर भनिरहेको छु ।

अन्य पार्टीका उम्मेदवारहरुले बुटवललाइ आफ्नो गढ भनेर प्रचार गरिरहेका छन् नि ?
कसैले गढ भन्दैमा त्यो सत्य नै हुन्छ भन्ने छैन । मैले अघिल्लो चुनाबमा २३०० जति भोट कम ल्याएकोे हुँ । अहिले ९० हजारभन्दा बढी मतदाता छन् । कसरी गढ भयो ? यो नागरिकमा भ्रम फिजाउँनका लागि फैलाइएको हल्ला मात्रै हो । हामीले बुटवलमा त्यसअघि सुर्यप्रसाद प्रधानदाईले चुनाब जित्नुभएकै थियो । हामीले हाम्रो गढ भनेर भ्रम त फिजाएनौं । संघीय सरकारको नेतृत्व गर्दैमा देश हाम्रो गढ भयो भन्दिने त ? यसपटक पाँचदलीय गठबन्धनका तर्फबाट म चुनाब जित्छु । म गढ भनेर भ्रम फिजाउन्न । किनकी यो कुनै पार्टीको गढ हैन । बुटवलबासीको उपमहानगर हो । यसलाई बुटवलबासीको साझा सम्पत्तिका रुपमै रहन दिनुपर्छ । पार्टीको सम्पत्ति जस्तो गरिनुहुन्न । अर्को कुरा, बुटवल नगरका हरेक नागरिक सचेत हुनुहुन्छ । देशमा भएका हरेक ठूला आन्दोलनको नेतृत्व गर्ने नेपाली काँग्रेसले गरेका गतिविधिलाइ एमालेसँग दाज्दै मिल्दैन । बुटवल र बुटवलबासीको लागि यसअघि नेतृत्वमा पुगेको एमाले र तीनका जनप्रतिनिधिले केही गरेनन् । त्यो कुरा जनताले स्पष्ट बुझ्नु भएको छ । विगतमा झुटा आश्वासन बाँडेर उनीहरुले जनतालाइ झुक्याएका हुन् । अब यहाँका नगरबासी कोही पनि कसैले झुक्याउँदैमा झुक्किनु हुन्न भन्ने कुरामा म विश्वस्त छु । हिजो हामीले निकै दुःख गरेर प्रदेशको अस्थायी राजधानी बुटवल ल्याएका थियौ । एमालेले बुटवलको राजधानी खोसेर दाङ्ग पु¥यायो । त्यसमा एमालेका स्थानीय देखि प्रदेश र केन्द्रमा नेत्तृत्व गर्नेहरुकै कारण राजधानी यहाँबाट सारेर दाङ पु¥याइएको हो । बुटवलबाट कुनै पनि हालतमा राजधानी सार्न दिन्नौं भनेर भन्ने एमालेका नगरदेखि केन्द्रीयस्तरसम्मका नेताहरु आज कहाँ गए ? बुटवलमा पाँच वर्षको अवधिमा कुनै एउटा बाटोघाटो बनेर सकिएको छैन । न खानेपानी समस्या समाधान भएको छ न फोहोर व्यवस्थापन गर्न सकेका छन् । शिक्षा,स्वास्थ्य, खानेपानी, फोहोरमैला व्यवस्थापन जस्ता आधारभुत कामहरुमा समेत सिन्को भाँच्न नसक्ने एमालेका नेताहरुले नगरको विकास गर्दैनन् भन्ने कुरा यहाँका जनताले बुझनु भएको छ । जनताले भोट दिएर पठाएको जनप्रतिनिधि साझा हुन सकेनन । बुटवल उपमहानगरपालिकालाई एउटा दल विशेषको पार्टी कार्यालय बनाउने कुचेष्टा गरियो । विभिन्न समितिका नाममा आफ्ना कार्यकर्ताको भिड जम्मा गर्ने र भत्ताका नाममा जनताले तिरेको कर नजिकका मान्छे पोस्ने काममा खर्च भएको छ । सरकारी ढुकुटीमा चरम बेथिति, भ्रष्टाचार छ तर अव त्यसलाइ रोक्नु पर्छ । अब अति भयो भ्रष्टाचारलाइ शुन्यमा झारेर नगरको विकास शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, जस्ता आधारभुत विकास गर्दै नगरलाइ हराभरा, सुन्दर सफा, समृद्ध नगर बनाउन यसपटक मलाइ रुख चिन्हमा भोट दिएर जिताउनुस् र तपाईँहरुको सेवा गर्ने मौका दिनुस । मैले यो नगरपालिकालाइ सबैको साझा नगरपालिका हो भन्ने अनुभुति गराउने छु ।
अन्तमा आम नगरवासी र मतदातालाई हाम्रो मिडिया मार्फत के भन्न चाहनुहुन्छ ?
म नगरका आदरणीय आमाबुवा दाजुभाइ दिदीबहिनी सम्पूर्णमा विशेष अनुरोध आग्रह गर्न चाहन्छु कि, तपाईँले फेरि गल्ती नदोहो¥याउनुस् । यसपटक मलाइ आफ्नो मत दिएर जिताउनुस् । म तपाइकै सेवक हुँ र बाँकी जीवन पनि नगरबासीकै सेवक भएर बिताउने छु । बुटवल उपमहानगर पालिकालाइ पश्चिम नेपालकै आर्थिक र समृद्ध नगरको रुपमा विकास गर्न निस्वार्थ भएर लाग्ने छु । यसअघि धेरै पटक एउटै पार्टीलाइ हेर्नुभयो तर उनीहरुले सत्तामा गएपछि जनतालाइ सम्झेनन् । आफु र आफना सीमित व्यक्तिको वृत्ति विकासमा मात्रै लागे । त्यसैले यो पटक नेपाली काँग्रेसलाई र गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार म खेलराज पाण्डेलाइ अमुल्य मत दिएर उपमहानगर हाक्ने मौका दिनुहोस् । हामीले तपाइहरुको चाहना अनुसार नै काम गर्नेछौं । खानेपानी, सडक, ढल निकास, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गर्ने ठोस योजना बनाएका छौ । हामीले एमालेका उम्मेदवारले जस्तो झुटा आश्वासनहरु बाँडदैनौं । तर जे बोल्छौ त्यो गरेर देखाउँछौं । सकुम्बासी समस्या तथा अव्यवस्थित बसोबासीको समस्या निर्वाचित भएको एक बर्ष भित्रै सम्बोधन गरी ठोस रुपमै स मस्या समाधान गर्नेछु । अरु थुप्रै महत्वपूर्ण र नगरका लागि आवश्यक योजनाहरु म सँग छन्, तीनको कार्यान्वयन गरेर बुटवल उपमहानगरलाई देशमै उत्कृष्ट सुशासनयुक्त, आर्थिक र व्यापारिक केन्द्र बनाउने छु ।

 
 
  
 

You may also like