भारतमा नयाँ संक्रमितको संख्या घट्यो, मृत्युदर भने अझै उच्च

नयाँदिल्ली। भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या घट्न थालेको छ । सङ्क्रमित हुनेको संख्या बढेर दैनिक चार लाखभन्दा धेरै पुगेकोमा अहिले यो संख्या घटेर तीन लाखभन्दा कममा झरेको छ ।

गएको २४ घण्टामा भारतमा दुई लाख ७६ हजार दुई सय ६१ जनालाई सङ्क्रमण भएको छ । योसँगै भारतमा सङ्क्रमण हुनेको संख्या दुई करोड ५७ लाखभन्दा धेरै छ । भारतमा नयाँ सङ्क्रमितको संख्या घट्दै गए पनि मृत्युदर भने कम हुन सकेको छैन । गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ८ सय ८० जनाको ज्यान गएको छ ।

योसहित ज्यान गुमाउनेको संख्या दुई लाख ८७ हजार एक सय ५६ पुगेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना सङ्क्रमित हुने देशको सूचीमा भारत दोस्रो स्थानमा छ । अमेरिका पहिलो स्थानमा छ भने ब्राजिल तेस्रो स्थानमा छ । अमेरिकामा गएको २४ घण्टामा २८ हजार ५ सय ४१ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ६ सय ३६ जनाको ज्यान गएको छ । यस्तै, ब्राजिलमा झण्डै ८० हजार नयाँ सङ्क्रमित थपिँदा दुई हजार ४ सय ८५ जनाको ज्यान गएको छ । एजेन्सी

 

 
 
  
 

You may also like