एक महिनामा एक लाख ५८,६७४ जनामा संक्रमण, वैशाखमा मात्रै १,६११ जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो एक महिनामा देशभर एक लाख ५८ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमणबाट वैशाखमा मात्रै एक हजार ६ सय ११ जनाले ज्यान गुमाएका छन् ।

गत ३१ चैतमा संक्रमितको कुल संख्या दुई लाख ८० हजार नौ सय ८४ थियो । ३१ वैशाखमा पुग्दा त्यो संख्या चार लाख ३९ हजार ६ सय ५८ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । त्यस्तै, ३१ चैतसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ५८ थियो भने ३१ वैशाखमा यो संख्या चार हजार ६ सय ६९ पुगेको छ ।

एक महिनाको अवधिमा देशभर सक्रिय संक्रमितको संख्या पनि एक लाख नाघेको छ । ३१ चैतमा सक्रिय संक्रमितको संख्या जम्मा तीन हजार ६ सय आठ थियो भने ३१ वैशाखमा यो संख्या एक लाख सात हजार तीन सय ३६ पुगेको छ ।

३१ चैतमा पाँच सय १७ जनामा संक्रमण देखिएको थियो । पछिल्लो समय दैनिक नौ हजारसम्ममा संक्रमण पुष्टि भइरहेको छ । शुक्रबार मात्रै आठ हजार चार सय ६७ जनामा संक्रमण देखिएको छ । २८ वैशाखमा एकै दिन नौ हजार चार सय ८३ जनामा संक्रमण देखिएको थियो । त्यसयता भने दैनिक संक्रमितको संख्या थोरै घटेको छ ।

केही दिनयता दैनिक दुई सयभन्दा धेरै संक्रमितले ज्यान गुमाइरहेका छन् । अस्पतालमा अक्सिजन अभाव र आइसियू बेड ‘प्याक’ हुँदा पनि बिरामीको मृत्यु हुने क्रम बढेको छ । संक्रमण भयावह बन्दै गएपछि १३ वैशाखदेखि जिल्लागत रूपमा निषेधाज्ञा लगाउन सुरु गरिएको थियो । १३ गते नेपालगन्जमा तथा १६ देखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो । शुक्रबारसम्म ७३ जिल्लामा निषेधाज्ञा लागू भएको छ ।

ग्रामीण क्षेत्रमा फैलिँदै संक्रमण
निषेधाज्ञा लागू भएपछि काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा केही दिनयता संक्रमण थोरै घटेको छ । दैनिक चार हजार दुई सयसम्म पुगेको संक्रमण केही दिनयता तीन हजार पाँच सयको आसपास छ । अन्य पहाडी जिल्लामा भने संक्रमण बढेको छ ।

संक्रमण बढे पनि परीक्षणको दायरा भने बढ्न सकेको छैन । दैनिक अधिकतम २१ हजारभन्दा धेरै परीक्षण भएको छैन । परीक्षण कम हुँदा नेपालमा संक्रमण दर दैनिक ४० प्रतिशतभन्दा धेरै छ । परीक्षण बढाएमा अहिलेको भन्दा संक्रमितको संख्या दोब्बर हुन सक्ने चिकित्सकहरूको भनाइ छ ।

३१ वैशाखमा २० हजार नौ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ । त्यस्तै, ३० वैशाखमा १९ हजार चार सय ७४, २९ वैशाखमा २० हजार तीन सय ६२ र २८ वैशाखमा २० हजार पाँच सय ९६ जनाको पिसिआर परीक्षण भएको थियो ।

लक्षण देखिएका, संक्रमित व्यक्तिका परिवार तथा नजिकका व्यक्तिको मात्र परीक्षण भइरहेको छ । समुदायमा गएर व्यापक परीक्षण नहुँदा वास्तविक संक्रमितको अवस्था पत्ता लाग्न सकेको छैन । ‘भारतमा भन्दा नेपालमा संक्रमण दर झन्डै दोब्बर छ,’ जीवाणुविज्ञ डा. सन्तोष दुलालले भने, ‘यसको एउटा कारण नेपालमा परीक्षण निकै कम मात्र भइरहेको छ ।’ पछिल्लो समयमा भने कन्ट्याक्ट ट्रेसिङ पनि हुन थालेको छ । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like