अक्सिजनमा कोटाले झनै संकट

काठमाडौं। सरकारले कोटा निर्धारण गरेर अक्सिजन दिन थालेपछि अपुग भएको भन्दै अस्पताल व्यवस्थापकले कोरोना संक्रमितका आफन्तलाई आफैं अक्सिजन खोजेर ल्याउन आग्रह गर्न थालेका छन् । आईसीयू र भेन्टिलेटरमा रहेका बिरामीका आफन्तले समेत आफैं अक्सिजन जोहो गर्नुपर्ने अवस्था आएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले सोमबार कुन अस्पताललाई दिनमा कति सिलिन्डर अक्सिजन दिने भनेर कोटा निर्धारण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको अस्पतालमा उपचाररत बिरामीको विवरणका आधारमा सीसीएमसीले अक्सिजन सिलिन्डरको कोटा तोकेको हो ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले कोटा निर्धारण गरिएपछि कसैले पनि अक्सिजन दिन नचाहेको बताए । ‘हामीलाई पहिला अक्सिजन दिने गरेको कम्पनीले तोकिएको ठाउँमा जानुस् भन्यो, तोकिएको कम्पनीले पनि अक्सिजन दिएन,’ उनले भने ।

महतोका अनुसार मेडिसिटीमा १ सय १८ जना संक्रमितको उपचार भइरहेको छ । भेन्टिलेटरमा मात्र ४० जना छन् । अस्पतालमा भर्ना भएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई अक्सिजन दिनुपर्ने अवस्था छ । ‘दिनमा ३ सय सिलिन्डर जोहो गरेर बिरामीको उपचार गरिरहेका थियौं । सरकारले एक सय सिलिन्डर दिने निर्णय गरेको रहेछ,’ उनले भने, ‘अक्सिजन नभएकैले भोलि दुर्घटना नहोस् भनेर बिरामीका आफन्तलाई वास्तविकता बताएर अक्सिजन खोज्न आग्रह गरेका छौं ।’ आईसीयू र भेन्टिलेटरमा हाइफ्लो अक्सिजन दिइँदै गरेका संक्रमितका आफन्त आफैंले अक्सिजन खोज्नुपर्ने भएपछि निराश छन् ।

९० जना संक्रमितको उपचार भइरहेको धुम्बाराहीको ह्याम्स अस्पतालले दिनमा सय सिलिन्डरको मात्र कोटा तोकिएपछि बिरामी भर्ना गर्न छाडेको छ । ‘भएकै बिरामीलाई अक्सिजन पुर्‍याउन मुस्किल भएपछि हामीले भर्ना लिनै छाडिसक्यौं,’ अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले भने, ‘जति कोटा तोकिएको छ, त्यतिमा सुविधा दिन गाह्रो भयो । यो समस्या सीसीएमसीमा राखिसकेका छौं । पुनर्विचार हुनेमा आशावादी छौं ।’ उनले ह्याम्समा दिनमा २ सय ५० सिलिन्डर खपत भइरहेको जानकारी दिए । अस्पतालमा अक्सिजन प्लान्ट भए पनि पुरानो आवश्यकताअनुसार मात्रै भएकाले अहिले बढी अक्सिजन चाहिएको डा. शर्माले बताए ।

कोटा निर्धारणले सरकारी अस्पतालमा पनि समस्या सुरु भएको छ । पाटन अस्पतालमा दिनमा ३ सय सिलिन्डरभन्दा बढी अक्सिजन खपत हुन्छ तर सरकारले दुई सय सिलिन्डर मात्रै तोकिदिएको छ । ‘सामान्य अवस्थामै डेढ सय सिलिन्डरभन्दा बढी खपत हुन्थ्यो । कोरोनाका बिरामी बढेपछि दोब्बर चाहिन थालेको छ । सरकारले थोरै कोटा तोकिदिएपछि बिरामी भर्ना लिनै गाह्रो भएको छ,’ पाटनका एक चिकित्सकले भने ।

सीसीएमसीले सोमबार कान्तिपुर, सगरमाथा, नवज्योति, सीता, अक्सिटेक, सोपान, शंकर, हिमाल, हाम्रो ग्यास कम्पनीलाई पत्र लेखी कुन अस्पताललाई कति अक्सिजन दिने भनेर निर्देशन दिएको हो । सीसीएमसीका सहसचिव नूरहरि खतिवडाले हस्ताक्षर गरेको पत्रमा अस्पतालहरूलाई तोकिएबमोजिम दैनिक न्यूनतम अक्सिजन वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

अक्सिजन ग्यास उत्पादक संघलाई बोधार्थ दिइएको पत्रमा कुन अस्पताललाई कति अक्सिजन दिने भनेर तोकिएको छ । सीसीएमसीले काठमाडौं मेडिकल कलेज, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, एपीएफ अस्पताललाई दिनमा १ सय ५० सिलिन्डरका दरले अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको छ । वीर अस्पताललाई ३ सय, नर्भिक, ह्याम्स, नेपाल प्रहरी अस्पताल, नेपाल मेडिकल कलेजलाई एक सय सिलिन्डरका दरले अक्सिजन उपलब्ध गराउन भनिएको छ ।

पाटनलाई २ सय, ग्रान्डी, प्रसूति गृहलाई ७५, धुलिखेल अस्पताललाई ९० सिलिन्डर कोटा तोकिएको छ । सीसीएमसीले काभ्रे र काठमाडौं उपत्यकाका ७७ वटा अस्पताललाई अक्सिजन ग्यासको कोटा निर्धारण गरेको हो । कान्तिपुर दैनिकबाट

 

 
 
  
 

You may also like