कोरोनाविरुद्धको खोप विकास गर्ने सबैभन्दा सानो मुलुक बन्दै क्युबा

काठमाडौ। अमेरिकी नाकाबन्दी र कोरोना महामारीको दोहोरो मारमा छ । तैपनि क्युबा कोरोनाविरुद्धको खोप विकास गर्ने सबैभन्दा सानो मुलुक बन्ने संघारमा छ ।

यतिबेला विश्वभर २७ खोप परीक्षणको अन्तिम चरणमा छन्। तीमध्ये दुई खोप क्युबाले विकास गरेको हो । ‘हाम्रो सार्वभौमसत्ता कायम राख्न हामीलाई आफ्नै खोप आवश्यक छ,’ क्युबाको फिन्ले इन्स्टिच्युटका निर्देशक डा. भिसेन्ते भेरेजले भने ।
सो इन्स्टिच्युटले सभरिन २ नामक खोप विकास गरेको छ ।

‘नौ महिनाअघि हामीसँग सोच मात्र थियो, अहिले तेस्रो चरणको परीक्षणमा पुगिसकेका छौं । यो खोप परीक्षणमा हवानाका ४४ हजार स्वयंसेवक सहभागी भएका छन् । अर्कोतिर अब्दाला नामक खोपको तेस्रो चरणको परीक्षणमा पूर्वी सहर सान्टियागोका स्वयंसेवक सहभागी छन् । अमेरिकाले नाकाबन्दी लगाएका कारण यो मुलुक आर्थिक संकटमा छ । क्युबाले आवश्यक स्वास्थ्य उपकरण पनि आयात गर्न पाउँदैन ।

खोप विकासका लागि क्युबाका सबै अनुसन्धान टोलीले अहिले एउटै स्पेक्ट्रोमिटरले काम चलाइरहेका छन् । यो खोपको रासायनिक संरचना विश्लेषण गर्ने मेसिन हो । यो मेसिन बेलायतको माइक्रोमास नामक कम्पनीले उत्पादन गर्छ । तर, त्यसलाई अमेरिकी कम्पनीले किनेको हुनाले आवश्यक पार्टपुर्जा क्युबाले आयात गर्न पाएको छैन । यतिबेला क्युबामा प्रतिदिन करिब १ हजार मानिस संक्रमित भइरहेका छन् । क्युबाले यही वर्ष १० करोड सोभरिन २ खोप उत्पादन गर्ने लक्ष्य लिएको छ । गार्जियन

 
 
  
 

You may also like