भारतमा कोरोनाको कहालीलाग्दो अवस्था : एकै दिन दुई लाख ६१ हजार संक्रमित

नयाँदिल्ली। भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमित २ लाख ६१ थपिएका छन् । यो एकै दिन थपिएको कुनै पनि राष्ट्रको सबैभन्दा बढी हो । कोरोनाको संक्रमण भारतमा कहाली लाग्दो स्थितिमा पुग्ने क्रममा यतिधेरै संक्रमित थपिएका हुन् । शनिबार ९ अप्रिल १७, बैशाख ४ गते० २ लाख ६० हजार ५३३ जना संक्रमित थपिएका हुन् ।

शुक्रबार २ लाख ३४ हजार थपिएका थिए । हरेक दिन भारतमा रेकर्ड बनिरहेको छ । बिहीबार २ लाख १६ हजार ६४२ जना थपिएका थिए । यसअघि बुधबार १ लाख ९९ हजार ३७६ थपिएका थिए । संक्रमण उच्च बिन्दूमा पुगिरहँदा १५ दिनदेखि विश्वकै सबैभन्दा धेरै संक्रमित भारतमा थपिएका छन् । मंगलबार १ लाख ८५ हजार १०४ संक्रमित थपिएका थिए ।

हरेक दिन संक्रमित बढेको रेकर्ड बनिरहेको छ । निरन्तर बढिरहेको आँकडाले भारतसँगै छिमेकी देशहरुमा पनि कोरोनाको स्थिति भयावह बन्ने अवस्था देखिन्छ । गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए । गत वर्षको सेप्टेम्बरको अवस्थालाई पनि नाघेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् । कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ ।

यस्ताे छ ताजा तथ्याङ्क
योसँगै कुल संक्रमितको संख्या भारतमा १ करोड ४७ लाख ८२ हजार ४६१ पुगेको छ । भारतमा सक्रिय संक्रमित बढेर १७ लाख ९३ हजार ९७६ पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा पहिलो लहरको उच्च बिन्दूको समयमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए ।

मृतकको स्थिति पनि भयावह बन्दै गएको छ । मृतकको दर पनि उच्च पुगेको छ । शनिबार दोस्रो लहरपछिको सबैभन्दा धेरै १ हजार ४९२ जनाको ज्यान गएको छ । शुक्रबार १ हजार ३३८ जनाको , बिहीबार १ हजार १८२ जनाको, बुधबार १ हजार ३७ जनाको र मंगलबार १ हजार २६ जनाको ज्यान गएको थियो । अहिलेसम्म १ लाख ७७ हजार १६७ जनाको ज्यान गइसकेको छ । शनिबार १ लाख ३८ हजार १५६ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड २८ लाख ५ हजार ९४ जना संक्रमणमुक्त भएका छन् । एजेन्सी

 

 
 
  
 

You may also like