महारानी र राजकुमार फिलिपको अन्त्यहीन प्रेम

काठमाडौं। एउटा विवाह जुन सात दशक बढी समय चल्यो । सार्वजनिक रुपमा फिलिप धेरै महत्वपूर्ण अवसरमा महारानीको सहायकका रुपमा देखिए । निजी जीवनमा प्रिन्स त्यो व्यक्ति थिए, जसले मात्र महारानीलाई निकै नजिकबाट जान्दथे ।

एक पटक एक निजी सचिवले भनेका थिए, ‘विश्वमा प्रिन्स फिलिप मात्र एक व्यक्ति हुन् जो महारानीलाई कुनै आम व्यक्तिका रुपमा हेर्थे । उनी मात्र यस्तो गर्न सक्छन् ।’ उनीहरुको विवाह प्रेममा आधारित थियो । उनीहरुले एक–अर्कालाई रोजेका थिए । सन् १९३९ मा डार्टमाउथ नोभल कलेजमा भएको उनीहरुको पहिलो भेटको तस्बिर एक लामो सहयात्राको सुरुवातको साक्षी छ ।

टेनिस र क्रोक खेल खेलिरहेका १८ वर्षीय एक फुर्तिला सैन्य जवानमा १३ वर्षीया राजकुमारी एलिजाबेथको नजर पर्‍यो । युवाबस्थाका ‘क्रश’ पहिले साथी बने । युद्धको समयमा दुबैले एकअर्कालाई चिठ्ठी लेख्न थाले । कहिले काहिँ भेटघाट पनि हुन्थ्यो । जब प्रिन्स फिलिप शाही नौसेनामा सेवामा खटिएका थिए तब राजकुमारी उनको एक तस्बिर आफ्नो कोठामा राख्थिन् । ग्रिसमा जन्मेका राजकुमार फिलिपको बाल्यकाल युरोपको विभिन्न भागमा फिरन्ते जस्तै गरी बित्यो । आत्मनिर्भर बन्नु बाहेक उनीसँग अन्य बिकल्प थिएन । उनी सिकारु र भावनात्मक रुपमा मजबुत व्यक्ति थिए । तर राजकुमारी दुनियाको वास्तविकताभन्दा निकै पर आरामदायी महलमा हुर्किएकी थिइन् । उनी लजालु, कम बोल्ने र समझदार युवती थिइन् ।

‘प्रिन्स फिलिप जुन तरिकाले आफ्नो कुराबाट उहाँ (महारानी) लाई हँसाउनुहुन्छ, उहाँ जुन तरिकाले जिन्दगीलाई हेर्नुहुन्छ, त्यो महारानीको भन्दा निकै फरक छ । यसैले उहाँहरु एक सानदार दम्पत्ती हुनुहुन्छ’, उनीहरुका नाती प्रिन्स विलियमले एक पटक भनेका थिए ।

प्रेममा डुबेका जोडी

सन् १९४७ मा एलिजावेथको २१ औं जन्मदिनमा यी दुईको स्वयंवरको आधिकारिक घोषणा भयो । राजकुमार फिलिपले भने त्यसको एक वर्ष पहिले नै आफ्नो इच्छा जाहेर गरिसकेका थिए । हिरा र प्लाटिनमबाट बनेको स्वयंवरको औंठीको डिजाइन गर्न प्रिन्स फिलिप स्वयंले सहयोग गरेका थिए । त्यो औंठी उनकी आमा राजकुमारी ऐलिसको ताजको रत्नबाट बनाइएको थियो ।

प्रिन्स फिलिपले विवाहको केही दिनअघि आफ्नी आमालाई एक चिठ्ठी लेख्दै आफू पूर्ण रुपमा बिना शंका प्रेममा डुबिसकेको बताएका थिए । वेष्टमिनिस्टर आबेमा २००० पाहुनाको उपस्थितिमा उनीहरुको विवाह भयो । दोस्रो विश्वयुद्ध समाप्त भएको दुई वर्षपछि अवस्था सामान्य बन्दै थियो । उनीहरुको विवाहको उत्सव एक दुर्लभ क्षण मानिएको थियो । विस्टन चर्चिलले भनेका थिए, ‘कठीन यात्राको मार्गमा यो उत्सव रंगको चमक हो ।’

विवाहको अर्को वर्ष उनीहरुको जेठा छोरा चाल्र्सको जन्म भयो र पछि छोरी एनको । राजकुमार फिलिपले नौसेनामा निकै छिटो प्रगती गरिरहेका थिए । जब उनी युद्धपोतमा सेवामा खटिएका हुन्थे, तब उनको युवा परिवार माल्टामा समय बिताइरहेको हुन्थ्यो । उनी भने त्यो समयमा अपेक्षाकृत सामान्य जीवन बिताइरहेका थिए ।

राजा जर्ज छैटौंपछि परिवर्तित अवस्था

सन् १९५२ फेब्रुअरी ६ मा राजा जर्ज छैटौंको अकाल मृत्युका कारण अवस्था बदलियो । सो समय महारानी एलिजाबेथ २५ वर्षकी थिइन् भने राजकुमार फिलिप ३० वर्षका । फिलिपलाई थाहा थियो कि राजकुमारी रानी बन्ने तय थियो । यद्यपी उनलाई अपेक्षा थियो कि आफ्नो जिन्दगी राम्रोसँग जिउनको लागि उनीसँग अझै केही वर्ष बाँकी नै छ । राजकुमारी एलिजाबेथ महारानी बन्नु राजकुमारका लागि आफ्नो नौसेनाको महत्वकांक्षाको अन्त्य थियो । जहाजलाई निर्देशन दिने व्यक्तिका लागि अचानक एक सहायकको भूमिका निर्वाह गर्नु सहज थिएन ।

यो भुल्नु हुँदैन कि त्यो १९५० को दशक थियो, जुन समय एक पत्नीका लागि आफ्नो पतिभन्दा अघि बढ्नु दुर्लभ थियो । महारानी एक आमा पनि थिइन् । यद्यपी जुन भूमिकाका लागि उनको जन्म भएको थियो, त्यो उनका लागि सर्वोपरी थियो ।

‘दोहोरो’ भूमिका

पदका कारण दुईको सम्बन्धमा परेको असर सबै आफ्नै स्थानमा नै रह्यो । प्रिन्स फिलिपलाई आफ्नो भूमिका निर्वाह गर्न समय लाग्यो । केही समय दरबारियासँग उनको मनमुटाव पनि भयो । सन् १९५६ मा उनले चार महिनासम्म कमनवेल्थ राष्ट्रको यात्रा गरे । यसले पत्नीप्रति उनको समर्पणमा प्रश्न उठायो । तर जब यो जोडी आफ्नो लयमा आयो, तब आउने केही दशकका लागि नमुनाका रुपमा स्थापित भयो ।

राजकुमारले रानीलाई राज्य प्रमुखको भूमिका निर्वाह गर्न मद्दत गरे र आफूले परिवारको मुखियाको दायित्व निभाए । बाह्य दुनियामा एलिजाबेथ मालिक थिइन्, तर निजी जिन्दगीमा भूमिका उल्टन्थ्यो । राजकुमार फिलिप घरका ‘मालिक’ थिए भने महारानी घरको ‘भाँडा माझिरहेकी’ हुन्थिन् । यो कुरा सन् १९६० मा शाही परिवारका विषयमा बनेको डकुमेन्ट्रीमा पनि देख्न सकिन्छ ।

राजकुमार फिलिप राजकीय यात्रा, संसद्को सुरुवात, वर्षगाँठ लगायतका महत्वपूर्ण अवसरमा महारानीसँगै देखिन्थे । पुराना फुटेजहरु हेर्ने हो भने ती अवसरमा उनीहरु एक अर्कालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ । महारानीलाई कुरा गर्न सहज होस् भनेर राजकुमार फिलिप भीड अथवा अतिथिसँग कुरा गरिरहन्थे । यो एउटा दोहोरो कार्य थियो, जसले काम गथ्र्यो पनि ।

उनीहरुबीचको सम्बन्धले पनि काम गर्न सहज बनायो । किनकी उनीहरुसँगै समय बिताउँथे । ‘फरक फरक रुची हुनु खुशी विवाहीत जीवनको राज हो,’ राजकुमारले एक पटक भनेका थिए । घोडा र कुकुरप्रति रानीको प्रेम प्रसिद्ध छ । उनी घोडाको हेरबिचार गर्नेसँग धेरै समय बिताउने गर्थिन् । प्रिन्स फिलिप जीवनकालमा एक उम्दा खेलाडी थिए । उनले पारिवारिक चालचलन र रितिरिवाजलाई निरन्तरता दिन निकै चासो देखाए ।

अन्तिम दिनहरुमा उनी अक्सर विन्डसर ग्रेटपार्क या स्यान्ड्रिघमको आसपास गाडी चलाइरहेको देखिन्थे । ‘आफ्नो भागको थोरै काम गरेको’ भन्दै प्रिन्स फिलिप सन् २०१७ मा सार्वजनिक जीवनबाट सेवानिवृत्त भए । सामान्यतया राजकुमार सन् २०२० मार्चसम्म स्यान्ड्रिघाम स्टेटस्थित वुड फार्ममा नै देखिन्थे ।

‘एचएमएस बबल’

राजकुमार फिलिप यस्ता व्यक्ति थिए जसलाई कोलाहल मन पर्दैन थियो । उनी पढ्ने, लेख्ने र पेन्टिङ गरेर समय बिताउन मन पराउँथे । महारानी आफ्नो जिम्मेवारीका कारण लन्डन र विन्डसरमा बस्थिन् । उनीहरु नियमित सम्पर्कमै थिए, तर पनि शारीरिक रुपमा भने टाढा भएका थिए । कोभिड–१९ महामारीपछि भने दुबैजनालाई विन्डसर महलमा केही समर्पित कर्मचारीको रेखदेखमा राख्ने निर्णय गरियो, जसलाई एचएमएस बबल भनिन्छ ।

महामारीका कारण प्रिन्सको अन्तिम दिनहरुमा दुई जनाले लामो समयसँगै बिताए । सायद कैयौं ‘ऐतिहासिक’ क्षण स्मरण गर्न दुबैलाई आवश्यक समय मिल्यो होला । दुई जना ७० वर्षसम्म एक अर्कासँगै रहे । आगामी दिनमा महारानीलाई निश्चित रुपमा उनको कमी महसुस हुनेछ । कहिले पनि देखावटी र खुल्लम खुल्ला आफ्नो प्रेम व्यक्त नगर्ने यो शाही जोडीलाई सायद एक ‘अमर शाही प्रेमकथा’का रुपमा सम्झना गरिएला । बीबीसीबाट

 

 
 
  
 

You may also like