अब जोखना हेरेर हुँदैन, ओलीलाई जसरी पनि हटाउनु पर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन अब पनि जोखना हेरेर बसे टाउको समाएर रुनुको विकल्प नहुने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको भेलालाई सम्वोधन गर्दै वरिष्ठ नेता पौडेलले ओलीलाई हटाउनका लागि अन्य दलसँग जस्तोसुकै सम्झौता गर्न कांग्रेस तयार भएको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन संघ केन्द्रीय कार्यसमितिद्वारा आयोजित भेलामा बोल्दै नेता पौडेलले निरंकुशतातिर गइरहेको सरकारको विकल्प खोजेरै छाड्ने बताएका हुन् । ‘निरंकुशतातिर गइरहेको यो सरकारको विकल्प खोजी गर्नुपर्छ, विकल्पका लागि हामी उदार बनेर जसरी विकल्प आउँछ त्यसरी सम्झौता गरेर अन्य पार्टीसँग मिलेर हामी इमान्दार प्रयत्न गर्नुपर्छ’, पौडेलले भने ।

उनले ओलीलाई हटाउने एक अवसर आफूहरुले गुमाएको बताउँदै अब पनि अवसर गुमाए टाउको समातेर रुनुपर्ने अवस्था आउने बताए । ‘एउटा चान्स त हामीले पहिल्यै मिस गरिसकेका छौं, जुनबेला एमाले र माओवादी केन्द्र बनेका थिएनन् । त्यो बेला जोखना हेर्दाहेर्दै एउटा चान्स मिस भएको छ’, पौडेलले भने, ‘फेरि पनि जोखना हेरेर चान्स मिस गर्ने अनि टाउको समातेर रुने यो कुरा हुँदैन ।’

उनले अहिले केपी शर्मा ओली र कांग्रेसकै सभापति शेरबहादुर देउवाको नारा पनि चुनावै भएको बताए । ‘चुनाव, चुनाव, चुनाव । केपी ओलीको नारा पनि चुनावै हो । हाम्रा केही साथीहरुको नारा पनि त्यही हो । आज त्यसैमा विवाद छ’, उनले थपे ।

यता आजै नयाँ गठबन्धन विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा तीन दलको संयुक्त बैठक राख्दै छन् । ओलीको विकल्पबारे छलफल र सहमति खोज्न सभापति देउवाले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग आज (शुक्रबार) दिउँसो ३ बजे संयुक्त वैठक गर्दैछन् ।

 

 
 
  
 

You may also like