विदेशमा ज्यान गुमाएका १५ श्रमिकको शव नेपाल ल्याइयो

काठमाडौं। वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याइएको छ । आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२ वटा, साउदी अरबबाट दुई वटा र कतारबाट एकवटा शव एकै पटक ल्याइएको हो ।

यसअघि गत माघमा मलेसियाबाट १८ वटा शव नेपाल एयरलाइन्सबाट ल्याइएको थियो । त्यसो त चालू आर्थिक वर्ष २०७७–०७८ को पहिलो नौ महिनामा मलेसियाबाट मात्रै २१९ वटा शव आएको बोर्डले जनाएको छ । बोर्डका अनुसार चालू आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १६ महिलासहित ६१५ जनाको शव स्वदेश ल्याइपुगेको छ ।

गएको साउनदेखि चैत २२ गतेसम्म वैदेशिक रोजगारीमा गएकामध्ये त्यो सङ्ख्याले रोजगारीकै सिलसिलामा ज्यान गुमाएकाको शव स्वदेश ल्याइएको बोर्डका निर्देशक दीनबन्धु सुवेदीले जानकारी दिए ।

बोर्डका अनुसार सो अवधिमा साउदी अरबबाट १७० वटा र कतारबाट ९५ वटा शव आएका छन् । यस्तै सो अवधिमा संयुक्त अरब इमिरेट्स (युएई) बाट ४६ वटा शव आए भने कुवेत २४ वटा, बहराइनबाट ११ वटा शव नेपाल आइपुगेका छन् । त्यसैगरी यस अवधिमा दक्षिण कोरियाबाट पाँच वटा शव आइपुगे भने जोर्डनबाट तीन वटा र साइप्रस दुई वटा शव आएको बोर्डले जनाएको छ । गोरखापत्र दैनिकबाट

 
 
  
 

You may also like