रुपन्देही उद्योग संघको भ्रमण टोली पाल्पामा

by समतल अनलाइन

बुटवल । रुपन्देही उद्योग संघको संघसंस्था अवलोकन भ्रमण टोली पाल्पा पुगेको छ । संस्थागत सम्बन्ध विस्तार, अनुभव आदान प्रदान र व्यवसायिक प्रवद्र्धनको उद्देश्यले संघले विगत लामो समयदेखि आयोजना गर्दै आएको संघसंस्था अवलोकन भ्रमण कार्यक्रम अन्तर्गत यसवर्ष संघको टोली पाल्पा भ्रमणमा गएको हो ।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा गएको टोली पाल्पा उद्योग वाणिज्य संघको सचिवालयमा भेटघाट तथा अन्तरक्रियामा सहभागी भएको थियो । कार्यक्रममा बोल्नुहुँदै रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले संघको स्थापना, औद्योगिक विकासका निम्ति संघले खेल्दै आएको भूमिका र आगामी योजनाहरुबारे प्रकाश पार्नुहुँदै भ्रमणले दुबै संस्थाबीचको सम्बन्ध थप प्रगाढ बन्ने, अनुभव साटासाटले संस्थागत विकासमा टेवा पुग्ने र औद्योगिक गतिविधिमा समेत बृद्धि हुने विश्वास लिएको बताउनु भएको थियो ।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले रुपन्देहीका उद्योगी व्यवसायीलाई पाल्पामा स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै यस सम्बन्धलाई निरन्तर प्रगाढ बनाउँदै लैजानु पर्नेमा जोड दिनु भएको थियो । वहाँले कार्यक्रममा बोल्नुहुँदै पाल्पा जिल्लाको औद्योगिक एवं व्यवसायिक गतिविधि र संघसंस्था क्रियाकलाप सम्बन्धमा प्रकाश पार्नु भएको थियो । वहाँले पाल्पामा रहेको पर्यटन क्षेत्रको सम्भावनाको विषयमा समेत जोड दिनुहुँदै रुपन्देहीका उ्रद्योगीहरुलाई पाल्पामा लगानी गर्न समेत आग्रह गर्नु भएको थियो । अन्तक्र्रिया कार्यक्रममा उठेका जिज्ञासाहरु माथी दुबै संस्थाका अध्यक्षहरुले प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष तेजकुमार पाठक र बोनिन पियाले संघसंस्था अवलोकन भ्रमणका क्रममा विगतका अनुभव र उलब्धीहरु सम्बन्धमा आफ्ना धारणा राख्नु भएको थियो ।
अन्तक्र्रियामा पाल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हरि रायमाझीले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा भ्रमण कार्यक्रमको उद्देश्य माथी रुपन्देही उद्योग संघका संघका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक माधब प्रसाद पौडेलले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रम संचालन पाल्पा उद्योग वाणिज्य संघका महासचिव शैलेन् भट्टराईले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष यादवसिंह कार्कीले गर्नु भएको थियो ।
दुबै संस्थाका अनुभव आदान प्रदान, आन्तरिक पर्यटन प्रवद्र्धन र सम्बन्ध विस्तारको उद्देश्यले आयोजित कार्यक्रम अन्तर्गत पाल्पामा रहेका ऐतिहासिक क्षेत्रहरु, ढाका तथा करुवा उद्योगहरु र धार्मिक क्षेत्रहरुको समेत अवलोकन गर्ने कार्यक्रम रहेको संघका महासचिव जिवकान्त काफ्लेले बताउनु भएको छ ।
भ्रमण टोलीमा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरू, एवं प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी र कर्मचारी ज्ञानबहादुर वलीको सहभागिता रहेको छ ।

 
 
  
 

You may also like