सकियो हिसान सप्ताह , जिल्ला भलिवलको उपाधी मणिमुकुन्द र एभरेष्टलाई

by समतल अनलाइन

झविन्द्र देवकोटा
बुटवल । रुपन्देहीमा भएको हिसान सप्ताह अन्तरगतको हिसान जिल्ला स्तरीय अन्तरमावि भलिवल प्रतियोगिताको उपाधी मणिमुकुन्द मावि र एभरेष्ट मावि बुटवलले जितेका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको आईतबार भएको फाईनल खेलमा छात्रतर्फ एभरेष्ट माविलाई हराएर मणिमुकुन्दले उपाधी जितेको हो । यस्तै छात्रातर्फको उपाधी सगरमाथा मावि देवदहलाई पाखा लगाएर एभरेष्ट मावि बुटवलले जितेको छ ।उपाधीसँगै मणिमुकुन्द र एभरेष्टले १२/१२ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पारे । प्रतियोगितामा द्वितीय हुने एभरेष्ट बुटवल र सगरमाथा मावि देवदहले १०/१० हजार नगद शिल्ड तथा प्रमाणपत्रमा चित्त बुझाएका छन् । प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ १५ समुह विद्यालयले सहभागिता जनाएको खेल संयोजक यमबहादुर रानाले जानकारी दिनुभयो ।

हिसान सप्ताह अन्तरगतनै यसअघि भएका हाजिरीजवाफ प्रतियोगिताको उपाधी ग्लोलियस मावि बुटवलले जितेको थियो भने वक्तृत्वकला प्रतियोगिताको उपाधी देवदह बुद्धपब्लिक मावि खैरेनीले जितेका हाजिरीजवाफ प्रतियोगिता संयोजक तथा हिसान सचिव पुष्प घिमिरेले जानकारी दिनुभयो ।

हिसान सप्ताह अन्तरगत भएका तीनै रचनात्मक गतिविधीको आईतबार भएको समापन समारोहमा पुरस्कार वितरण गरिएको छ । हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रममा हिसानका केन्द्रीय निर्देशक आरसी आचार्य, शिक्षा विकास समन्वय इकाई रुपन्देहीका दिपेन्द्र ढकाल, हिसानका सल्लाहकार टुकबहादुर क्षेत्री, अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, हिसानका बरिष्ठ उपाध्यक्ष दिनेश भुषाल, वक्तृत्वकला प्रतियोगिता संयोजक मधुप्रकाश ज्ञवाली लगायतले विजयी विद्यार्थी/खेलाडीलाई पुरस्कार वितरण गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।

शुक्रबारदेखि शुरु भएको हिसान सप्ताह अन्तरगत भलिवल, वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिताहरु भएको कोषाध्यक्ष तुल्सिप्रसाद सापकोटाले बताउनुभयो ।

 
 
  
 

You may also like