१६ वर्षका किशोर विमानको ल्यान्डिङ गियरमा लुकेर दुई दिनमा केन्याबाट नेदरल्याण्ड पुगे जिउँदो भेटिएकोमा डाक्टर समेत चकित

by समतल अनलाइन

काठमाडौ । केन्याको नैरोबी विमानस्थलबाट एउटा कार्गो विमान टर्की र बेलायत हुँदै नेदरल्याण्ड पुग्यो अर्थात् कूल ८ हजार किलोमिटरको यात्रा गर्‍यो । विमानको ल्यान्डिङ गियरमा १६ वर्षका एक किशोर लुकिरहे । अब उनी नेदरल्याण्डको मास्त्रिख्त शहरको एक अस्पतालमा छन् र स्वस्थ छन् ।

विश्वास गर्न मुस्किल
स्टफ डट को डट एनजेडले एक रिपोर्टमार्फत् यो घटनाबारे जानकारी दिएका हुन् । रिपोर्टका अनुसार बुधबार केन्याको नैरोबीबाट एयरबस ए३३० कार्गो विमानले उडान भर्‍यो । एक १६ वर्षका केन्याली किशोर विमानको ल्यान्डिङ गियरमा लुके । यो विमान टर्की र बेलायत रोकिएको पनि थियो ।

बेलायतपछि यो विमान शुक्रबार दिउँसो नेदरल्याण्डको मास्त्रिख्त विमानस्थल पुग्यो । यहाँ जब इन्जिनियरले विमान परीक्षण गरे तब ल्यान्डिङ गियरमा यी किशोरलाई देखे । उनलाई बाहिर निकालियो र स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइयो ।

जिउँदो भेटिँदा सबै जना चकित

रिपोर्टमा यी किशोरको नाम उल्लेख गरिएको छैन । स्वास्थ्य विज्ञलाई उद्धृत गर्दै उक्त रिपोर्टमा ती किशोर लामो यात्राका कारण हाइपोथर्मियाको शिकार भएको जानकारी दिइएको छ । हाइपोथर्मिया त्यो अवस्थालाई भनिन्छ जब शरीरको तापक्रम खतरनाक स्तरमा कम हुने गर्छ । यसले नसा जाम गराउन सक्छ जसका कारण मृत्युको सम्भावना अधिक रहन्छ । उनी जिउँदो भेटिँदा डाक्टरसमेत चकित भएका छन् ।

नेदरल्याण्डका उड्डयन विज्ञ उनी विमानसम्म कसरी पुगे भन्ने विषयमा अनुसन्धान गरिरहेका छन् । यति लामो यात्रामा ती किशोर विमानभित्र लुकेका छन् भन्ने कुरा कसरी थाहा पाउन सकिएन ? उक्त विमान धेरैजसो ३८ हजार फिटको उचाईमा थियो ।

यो उचाईमा अक्सिजनको स्तर निकै कम हुन्छ । यस्तोमा जिउँदो हुनु लगभग असम्भव नै हो । अर्को मुख्य कुरा के हो भने – जब विमान अवतरण हुन्छ तब पाङ्ग्रा खोलिने गर्छ, यस्तो अवस्थामा कोही लुकेकै छन् भने पनि खसेर मृत्यु हुने सम्भावना हुन्छ । यी किशोरले शुक्रबार भने, ‘म पूर्ण रुपमा ठिक छु । केन्यामा आफ्नो परिवारसँग कुरा गर्न चाहन्छु ।’

यसअघि दुई पटक यस्तो भएको थियो तर, दुबैको शव भेटियो

सन् २०१९ मा केन्या एयरवेजको एउटा विमानमा यस्तै प्रकृतिको घटना भएको थियो । साउथ वेस्ट लण्डनमा एक व्यक्ति आफ्नो घरको बगैंचामा घाम तापेर बसिरहेका थिए । अचानक उनी नजिकै ठूलो आवाजमा एक व्यक्ति विमानबाट खसे । उक्त विमान लण्डनबाट हीथ्रो एयरपोर्ट जाँदै थियो । विमानबाट खसेका ती व्यक्ति पनि विमानको ल्याण्डिङ गियर कम्पार्टमेन्टमा लुकेर यात्रा गरिरहेका थिए ।

यस्तै, सन् १९९७ मा पनि यस्तै भएको थियो । त्यतिबेला विमान नैरोबीबाट आइरहेको थियो । यो बेलायतको गेटविक विमानस्थलमा अवतरण गर्यो । विमानको अगाडिको ल्यान्डिङ भाग (नोज–ह्विल बे) मा एक केन्याली नागरिकको शव भेटिएको थियो । एजेन्सी

 
 
  
 

You may also like