ओली र उहाँका वकिलको ओंठ–तालु सुकेको छ : पौडेल

by समतल अनलाइन

तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गरेर पनि यसलाई बचाउन खोजे पनि पार नलाग्ने भएपछि प्रधानमन्त्री केपी ओलीको ओठ तालु सुकेको बताएका छन् । तनहुँको दमौलीमा रिपोटर्स क्लब तनहुँले आयोजना गरेको साक्षात्कार कार्यक्रममा कांग्रेस वरिष्ठ नेता पौडेलले सो भनाइ व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले शुक्रबार काठमाडाैं गरेको सम्बोधनलाई देखेर प्रधानमन्त्रीको ओंठतालु सकेको देखिएको पौडेलले बताए । ‘प्रधानमन्त्री र उहाँका वकिलको पनि ओंठतालु सुकेको छ,’ उनले भने, ‘उहाँले असंवैधानिक काम गर्नुभयो, यस कदमलाई वैधानिक सिद्ध गर्न ज्यान फालेर लागेपनि नहुने भएपछि उहाँ चिन्तित हुनु भएको छ ।’

सत्तरी वर्षको संघर्षमार्फत संविधान बनाएर देशले विकास र निकासको बाटो लियो भन्ने जनतामा आशा थियो त्यो भरोषा प्रधानमन्त्रीले चकनाचुर पारेको पौडेलले आरोप लगाए । ‘भण्डै दुई तिहाईको मत प्राप्त सरकारले पार्टीको आन्तरिक कारणले संसद विघटन गर्नु दुःखद् छ,’ पौडेलले भने ।

कांग्रेस पार्टीलाई भरोसाको केन्द्र बनाउन पनि आवश्यक रहेको पौडेलले बताए । कांग्रेसले पहिला संविधानको रक्षा गर्दै ७० वर्षदेखीको परिवर्तनलाई समेत संस्थागत गर्न सक्नुपर्ने पौडेलले बताए । संविधानलाई कमजोर बनाएर देशलाई विदेशीको क्रिडास्थल बन्न नदिनको लागि पनि कांग्रेस सचेत हुनुपर्ने पौडेलले दाबी गरे । ‘संविधानको रक्षाको लागि प्रधानमन्त्रीले पद छोडेर भए पनि संविधानको रक्षा गर्नुपथ्यो तर उहाँले मनपरी रूपमा संसद् भंग गर्नु गलत भयो,’ पौडेलले आरोप लगाए ।

जिल्लाको विकासको सन्दर्भमा हेर्दा आफुहरूले जसरी छोडेको त्यस्तै रहेको उनले दाबी गरे । ‘नेकपाका साथीहरूले हामीले जीतेपछि त विकासमा कार्यपलट हुन्छ भन्नु भएको थियो तर ३ वर्षको अवधिमा एउटा पनि राष्ट्रिय योजना पार्नुभएन,’ उनले भने । नागरिक दैनिकबाट

 
 
  
 

You may also like