पूर्व डीआइडी जोशीलाई बुद्ध एयरबाट पोखरा लगिँदै

by समतल अनलाइन

काठमाडौं । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य पूर्व डीआइजी छविलाल जोशीलाई आज (आइतबार) नै बुद्ध एयरको उडानबाट पोखरा लगिने भएको छ ।

सहकारी संस्थाको बचत अपचलनमा संसदीय विशेष छानबिन समितिले कारबाही सिफारिस भएपछि पक्राउ परेका जोशीलाई आइतबार राति ८ बजेको फ्लाइटबाट पोखरा लैजाने तयारी रहेको स्रोतले जानकारी दिएको छ । उनलाई जरूरी पक्राउ पुर्जी थमाएर पक्राउ गरिएको थियो । उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराउने तयारी रहेको प्रहरीको उच्च स्रोत बताउँछ ।

उनलाई सूर्यदर्शन सहकारीको बचत अपचलनसम्बन्धी विषयमा पक्राउ गरिएको हो । यसअघि जोशीको घरबाट प्रहरीले सहकारीसम्बन्धी डाटा रहेको सफ्टवेयर पनि बरामद गरेको थियो । उनीसँग सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सोधपुछ समेत गरेको थियो । ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने संस्था गोर्खा मिडियामा जोशीको ३५ प्रतिशत शेयर थियो । टेलिभिजन सञ्चालन भएको केही समयपछि उनले गोर्खा मिडिया छाडेका थिए । उनले छाडेपछि उक्त शेयर पनि अध्यक्ष जीबी राईकै नाममा रह्यो ।

जोशीमाथि सहकारीको बचत अपचलनबारे सिआइबीले पनि अनुसन्धान गरेको थियो । संसदीय छानबिन समितिको प्रतिवेदनमा विभिन्न सहकारीबाट गोर्खा मिडियामा बचत रकम आएकोबारे आफू अनविज्ञ रहेको जोशीले बयान पनि दिएका थिए । गोर्खा मिडियामा पोखराको सुर्यदर्शनलगायत सहकारीबाट बचत रकम आएको संसदीय छानबिन समितिको प्रतिवेदनको निष्कर्ष छ ।

गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयलाई संसदीय छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका थिए । निर्देशन लगतै जोशी पक्राउ परेका हुन् । सहकारीसम्बन्धी संसदीय छानबिन समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पनि कारबाही सिफारिस गरेको थियो ।

 
 
  
 

You may also like