‘देउवाको ढुलमुले चरित्रले ओलीको प्रतिगमनविरुद्ध कांग्रेस सशक्त हुन सकेन’

by समतल अनलाइन

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको ढुलमुले चरित्रका कारण कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्रतिगमन’ विरुद्ध सशक्त भूमिका निर्वाह गर्न नसकेको बताएका छन् ।

उनले केपी शर्मा ओलीको संसद विघटनको कदम असंवैधानिक भएकाले त्यसविरुद्ध नेपाली कांग्रेस एक ढिक्का भएर सशक्त रुपमा आन्दोलनमा उत्रिनु पर्ने बताए । आज (शनिबार) विराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाज मोरङको साधारण सभामा बोल्दै नेता कोइरालाले भने, ‘सभापति शेरबहादुरकै कारण कांग्रेसले प्रतिगमन हुन नदिन र भइसकेपछि विरोधमा सशक्त भूमिका खेल्न सकेको छैन ।’

मुख्य प्रतिपक्षी दल भएर कांग्रेसले पनि खेल्नुपर्ने जति भूमिका सशक्त ढंगले निभाउन नसक्दा संघीयता र गणतन्त्र खतरामा पर्ने सम्भावना बढेको कोइरालाले बताएका छन् । प्रचण्ड र माधवसँग बदला लिन र वैशाखमा चुनाव गराउन यो प्रतिगमन नभएको भन्दै नेता कोइरालाले संसद विघटन गर्नुको पछाडि गहिरो षड्यन्त्र रहेको दावी गरे ।

डा. कोइरालाले अब कांग्रेसले अदालतको फैसलालाई नपर्खी प्रष्ट भएर आन्दोलनमा जानुपर्ने बताए । कांग्रेस सभापति देउवाले अदालतको बहाना बनाउँदै प्रतिगमनविरुद्ध नोबोल्न पार्टीमा रुलिङ गरेको समेत आरोप लगाए ।

उनले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गराउने कार्यमा नेकपाका प्रचण्ड–माधव समूहसँगै नेपाली कांग्रेसको नेतृत्व पनि दोषी रहेको टिप्पणी गरे ।
उनले सभापति शेरबहादुरलाई लक्षित गर्दै भने, ‘शेरबहादुरजी पनि ओलीजी जस्तै व्यक्तिगत स्वार्थमा लोभिनु भयो, यसैले शुरुदेखि नै खेल्नुपर्ने जति भूमिका कांग्रेसले खेल्न सकेन, हुनुपर्ने जति आन्दोलन पनि भएन ।’

प्रतिक्रिया दिनुहोस्

 
 
  
 

You may also like