परीक्षा अव्यवस्थित हुँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ , कतिपय विद्यालयले विद्यार्थीलाई पूर्णांक भन्दा बढी नम्बर दिए

by समतल अनलाइन

काठमाडौं । परीक्षा अव्यवस्थित भएका कारण कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । नतिजा प्रकाशन गर्न अझै दुई हप्ता जति लाग्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसअघि बोर्डले मध्यपुससम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको थियो ।

कतिपय विद्यालयले विद्यार्थीको माक्र्सफाइल भद्रगोल बनाएको, एउटा विषयको उत्तरपुस्तिका अर्कै विषयमा राखेर पठाएको तथा उत्तरपुस्तिका क्रमसँग नराखेका कारण नतिजा प्रकाशनमा केही ढिलाइ हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । तर, कतिपय विद्यालयले आन्तरिक परीक्षामा पनि विद्यार्थीलाई पूर्णांकभन्दा बढी नम्बर दिएका छन् भने आन्तरिक मूल्यांकनमा पनि तोकिएकोभन्दा बढी नम्बर पठाएका छन् ।

त्यस्तै, धेरै विद्यालयले परीक्षालाई व्यवस्थित बनाउन नसकेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । ‘विद्यालयले भद्रगोल तरिकाले पठाएकाले नतिजामा पनि ढिला हुने भयो,’ उनले भने ।

उत्तरपुस्तिका र विद्यार्थीको माक्र्सफाइलमा सिम्बोल नम्बर क्रमगत रूपमा नमिलाउँदा बोर्डले धेरै समय नम्बर इन्ट्रीमा खर्चिनुपरेको छ । करिब चार लाख ३० हजार विद्यार्थीको सबै विषयमा गरी २२ लाख नम्बर इन्ट्री गर्नुपर्ने बोर्डका पदाधिकारीको भनाइ छ । यति धेरै सिम्बोल नम्बर पढ्दै इन्ट्री गर्दा निकै समय लागेको अध्यक्ष पौडेलको भनाइ छ ।

परीक्षा बोर्डले केन्द्राध्यक्षलाई अभिमुखीकरण तालिम समेत दिएको थियो । तैपनि उनीहरूले भद्रगोल तरिकाले परीक्षाका काम गरेको पौडेलको भनाइ छ । ‘वेबसाइटमा राखिदिएको फाइल डाउनलोड गरेर सिम्बोल नम्बरअनुसार माक्र्स चढाएको भए सहज हुने थियो, अभिमुखीकरण गरेर पनि त्यसअनुसार गरेको पाइएन,’ उनले भने, ‘कार्यविधि पढेर त्यसअनुसारको काम पनि गरेको पाइएन ।’ पुसमध्यतिर नतिजा सार्वजनिक गर्ने लक्ष्य राखे पनि भद्रगोल भएका कारण दुई हप्तापछि धकेलिएको अध्यक्ष पौडेलले बताए । गत ९ मंसिरबाट कक्षा १२ को परीक्षा सुरु भएको थियो ।

बोर्डबाट ४० प्रतिशत मात्रै मूल्यांकन
परीक्षा बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको हो । त्यसैगरी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधार लिइने र २० प्रतिशत आन्तरिक मूल्यांकन हुनेछ ।

देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमध्ये ६ सय १७ मा प्रश्नपत्र छपाइ गरी पुर्‍याएको थियो भने अन्यमा इमेलमार्फत प्रश्नपत्र पठाएको थियो । कोभिड– १९ का कारण यस वर्षको परीक्षामा पूर्णांक र समय घटाएर परीक्षा सञ्चालन गरिएको थियो । कक्षा १२ को परीक्षामा सहभागी हुने सबै विद्यालयमा होमसेन्टर कायम भएको थियो ।

यस वर्षको कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थी सहभागी हुन आवेदन गरेका थिए । यसअघि ८ वैशाखबाट सञ्चालन हुने तय भएको भए पनि कोभिड– १९ का कारण त्यतिखेर स्थगित भएको थियो ।

कोभिड– १९ संक्रमणका कारण गत ९ मंसिरदेखि सञ्चालन भएको परीक्षा दिन नसकेका विद्यार्थीको परीक्षा अब सुरु हुँदैछ । कोभिडका कारण जाँच दिन नसकेको जानकारी गराएका एक सय १० विद्यार्थीले बिहीबारदेखि परीक्षा दिँदै छन् । बोर्डले पहिलेकै केन्द्रमा परीक्षा दिने व्यवस्था गरेको छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like