संसद विघटन मेरो रहर थिएन : प्रधानमन्त्री ‘उपाध्यक्ष भन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको हुँ

by समतल अनलाइन

काठमाडौं। नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको आफू निकट नेताहरुको भेला सकिएको छ ।

भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेशमा जाने आफ्नो रहर नभएको बताएका छन् । पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि आफूले नयाँ जनादेशको निर्णय लिएको उनले दावी गरेका छन् ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गरेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चर्को आलोचना गरेका छन् । उपाध्यक्ष भन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको हुँ भन्दै ओलीले थपे , ‘अहिले नेकपा एमालेको अध्यक्षलाई कारबाही गर्ने रे !’

अहिले पनि संसदीय दलको नेता र पार्टीको अध्यक्ष आफू भएको भन्दै उनले उपयुक्त समयमा संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाउने बताएका छन् । बैठकमा पूर्व माओवादी लेखराज भट्ट पनि सहभागी भएका थिए ।

बैठकमा प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले अहिलेको अवस्थाका बारेमा आफ्नो धारणा राखेको एक निवर्तमान सांसदले जानकारी दिएका छन् । बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै केही सांसदहरुले आफूहरुलाई पार्टी फुट स्वीकार्य नभएको बताएका छन् ।

 
 
  
 

You may also like