आइसियु बेड कुर्दा कुर्दै संक्रमिको मृत्यु

by समतल अनलाइन

बुटवल। बुटवलमा दुई दिनदेखि आइसीयु बेडको प्रतीक्षामा रहेकी संक्रमितको मृत्यु भएको छ ।कोरोना संक्रमण देखिएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी ७७ वर्षीया महिलाको आइसियु बेड खाली हुने प्रतीक्षमा रहेकै अवस्थामा मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

गत असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी सुनवल–९, नवलपरासीकी ती वृद्धालाई तत्कालै आइसियुमा राख्नु पर्ने भए पनि बेड अभावका कारण प्रादेशिक अस्पतालको फिवर क्लिनिक सेन्टरमा राखिएको थियो ।

बुटवलको धागो कारखानामा अवस्थित अस्थायी कोराना विशेष अस्पतालमा आइसियु बेड खाली भएपछि बिरामीलाई स्थानान्तरण गर्ने क्रममा बाटौमै मृत्यु भएको अस्पतालले जनाएको छ । मुटुका रोगी तथा रगतको कमी भएकी ती वृद्धाको बुधबार पूर्वाह्न २ बजे लुम्बिनी प्रादेशिक अस्पतालबाट कोरोना विशेष अस्पताल लैजाँदै गर्दा मृत्यु भएको डा. थापाले बताए ।

कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि रुपन्देहीमा आइसियु बेडको अभाव भएको छ । कोरोना विशष अस्पतालमा रहेका १६ वटा आइसियु बेड खाली छैनन् । अन्य साधारण बेडमा २५ जना बिरामी रहेको अस्पतालले जनाएको छ

 
 
  
 

You may also like