खोप प्रयोगमा आउनुअघि २० लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

by समतल अनलाइन

काठमाडौं । कोरोना भाइरसको खोप प्रयोगमा आउनुअघि विश्वमा यो भाइरसका कारण २० लाखले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।डब्ल्यूएचओका आपतकालीन मामिला प्रमुख डा. माइक रायनले अन्तराष्टिय सहकार्य नभए अझै धेरैले ज्यान गुमाउने बताएका छन् ।

गत वर्षको अन्त्यमा चीनको वुहान शहरबाट विश्वभरि फैलिएको कोरोना भाइरसबाट हालसम्म तीन करोड २० लाख मानिस संक्रमित भइसकेका छन् । विश्वमा दैनिक रुपमा लाखौंको संख्यामा कोरोना संक्रमित बढिरहेका छन् ।

हिउँद शुरु भएसँगै केही देशमा यो भाइरसको दोस्रो लहर शुरु हुने वैज्ञानिकहरुले बताएका छन् ।

पछिल्लो अपडेट अनुसार अमेरिका, भारत र ब्राजिलमा विश्वमै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय युरोपमा पनि कोरोना संक्रमित थपिएकोमा चिन्ता व्यक्त गर्न थालिएको छ ।

हालसम्म कोरोना भाइरसका कारण झण्डै १० लाखले ज्यान गुमाएका छन् । अमेरिकामा मात्र यो भाइरसबाट ७० लाखभन्दा बढी संक्रमित भएका छन् ।

डब्ल्यूएचओले विश्वमा कोरोना भाइरसको दोस्रो लहर फैलिनभन्दा पहिले नै सरकारलाई कोरोना भाइरस नियन्त्रण गर्न आवश्यक उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।

 
 
  
 

You may also like