अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प

by समतल अनलाइन

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोना भाइरसविरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन् ।

स्थानीय समय अनुसार बुधबार उनले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन् ।

उनले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको बताए । कोरोना भाइरस विरुद्धको खोप तयार हुँदैछ, हामी आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्न सक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु, यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ’, उनले भने ।

उनले थपे, ‘यसलाई कहिलेदेखि वितरण गर्न सकिनेछ भन्ने कुरा जतिसक्दो चाँडो घोषणा गर्ने तयारी भइरहेको छ ।’ उनले अक्टोबरको मध्यसम्ममा कोरोनाविरुद्धको खोप प्रयोगमा आउने अनुमान गर्दै केही गरी ढिला भएमा केही दिन मात्रै ढिला हुनसक्ने बताए ।

आफूले जतिसक्दो चाँडो कोरोना नियन्त्रणका प्रयासहरु गरिरहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले डेमोक्र्याट तर्फका आफ्ना प्रतिस्पर्धीले भने त्यसलाई रोक्न सक्ने आरोप पनि लगाए ।

कोरोना भाइरसबाट अति प्रभावित भएको अमेरिकामा अहिलेसम्म ६६ लाख १६ हजार ४५८ जना सङ्क्रमित भएका छन् भने कोरोनाकै कारण एक लाख ९६ हजार ४३६ जनाको मृत्यु भएको छ । एएनआई

 
 
  
 

You may also like